एजेन्सी, मंसिर १० । अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाले चेतावनी जारी गर्दै एस्टेरोइड २०२४ वाइआरफोर जुन पहिले पृथ्वीलाई जोखिम बनाउने अनुमान गरिएको थियो, अब चन्द्रमासँग ठोक्किन सक्ने सम्भावना रहेको जनाएको छ। वैज्ञानिकहरूले दिएको प्रारम्भिक आंकलन अनुसार यसको चन्द्रमासँग ठोक्किनको सम्भावना करिब ४ प्रतिशत रहेको छ। बाँकी ९६ प्रतिशत सम्भावना अनुसार एस्टेरोइड चन्द्रमा र पृथ्वी दुवैलाई नछोइकन अन्तरिक्षमा बाहिर जान सक्छ।
यदि एस्टेरोइडले चन्द्रमासँग ठोक्किएमा चन्द्रमाको सतहमा ०.५–१ किलोमिटर गहिरो गड्ढा बन्न सक्नेछ। ठोक्काबाट उत्पन्न हुने मलबा अन्तरिक्षमा फैलिँदै पृथ्वीका उपग्रह र स्याटेलाइटहरूका लागि जोखिम पैदा गर्न सक्छ। यसले अन्तरिक्षमा उल्कापिण्ड वर्षाको घटना पनि निम्त्याउन सक्छ, जुन पृथ्वीबाट “टुटेको तारा” का रूपमा देखिन्छ।
वैज्ञानिकहरूको अनुमान अनुसार, एस्टेरोइड २०२४ वाइआरफोर को ठोक्किनको निश्चित आंकलन २०२६ सम्म पत्ता लाग्नेछ। त्यसपछि यो सम्भावना शून्य हुनसक्छ वा ३० प्रतिशत सम्म बढ्न सक्छ।
नाशा र युरोपियन स्पेस एजेन्सी ले सम्भावित खतराबाट जोगिन विभिन्न योजनाहरूमा विचार सुरु गरिसकेका छन्। सम्भावित उपायहरूमा स्पेसक्राफ्ट पठाएर एस्टेरोइडको मार्ग परिवर्तन गर्नु वा परमाणु उपकरणको प्रयोग गरेर यसलाई मोड्नु रहेका छन्। यद्यपि, अहिलेसम्म कुनै पनि उपायमा औपचारिक निर्णय भएको छैन।

वैज्ञानिकहरूले भनेका छन् कि अहिलेको अवस्थाको कुनै तत्काल खतरासँग सामना गर्नु परिरहेको छैन, तर भविष्यका लागि तयारी र निगरानी आवश्यक रहेको छ।








