काठमाडौं, भदौ ४। सुकुमवासी बस्तीबाट विस्थापित भएका पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा खबरदारी र्याली निकालेका छन् ।
भूमिहीन तथा सुकुमवासी मोर्चाको नेतृत्वमा बिहीबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो । र्यालीमा सहभागीहरूले आफूहरूलाई उचित व्यवस्थापन र क्षतिपूर्तिबिना विस्थापित गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले बस्तीमा डोजर चलाउने क्रममा नागरिकको ज्यान गइसके पनि सरकारले पीडित परिवारको व्यवस्थापन र क्षतिपूर्तिमा गम्भीरता नदेखाएको आरोप लगाए । उनीहरूले विस्थापित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न र ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
मोर्चाका अनुसार गत वैशाखदेखि विभिन्न सुकुमवासी बस्तीमा डोजर चलाउने क्रम सुरु भएयता भूमिहीन समुदायका ९ जनाको मृत्यु भएको छ । मोर्चाले ज्यान गुमाउनेमा हिरा हजारा दुषाध (पासवान), इन्द्रबहादुर राई, रविन तामाङ, कमला बलाम्पाकी, हिरा पुन, भेषबहादुर दर्जी, रतनदेवी मलाहानी, उज्ज्वल तामाङ र पार्वती विक रहेको जनाएको छ ।
पीडितहरूले सरकारले भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गर्नुको सट्टा बल प्रयोग गरेर विस्थापित गर्ने नीति लिएको आरोप लगाएका छन् । उनीहरूले नागरिकको ज्यान जाने अवस्था दोहोरिन नदिन तत्काल संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
यसअघि मोर्चाले डोजर अभियानका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा शोकसभा गरेको थियो । त्यसपछि सरकारलाई आफ्ना मागप्रति गम्भीर बनाउन खबरदारी र्याली आयोजना गरिएको मोर्चाले जनाएको छ ।






