जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।
उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि सो समितिको सभापतिमा जनमतकै प्रदेश सांसद सतिशकुमार सिंह थिए ।
उनी जेठ २५ गते मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो । प्रदेशसभाले असोज २ गते सो समितिको सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।




