एजेन्टलाई योजना नदिएपछि खानेपानी मन्त्री यादवद्वारा कार्यालय प्रमुखको जिम्मेवारी खोसियो



जनकपुरधाम, बैशाख ४ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्ना एजेन्टलाई ७ करोडको ठेक्का नदिँदा जिम्मेवारी खोसेको भन्दै निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साहले छानबिन तथा कारबाहीका लागि मुख्यसचिवलाई निवेदन लेखेका छन् ।

डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीका मान्छे पर्सा निवासी एजाज बाबुलाई उपभोक्ता समितिमार्फत दिन नमानेपछि आफूलाई सरुवा गरेको इन्जिनियर साहको दाबी छ ।



खानेपानी मन्त्रालयले फागुन १८ गते इन्जिनियर साहलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरमा निमित्त आयोजना प्रमुख बनाई पठाएको थियो । सहसचिवको दरबन्दी रहेको आयोजनामा दुई तह मुनीका इन्जिनियरलाई निमित्त आयोजना प्रमुख बनाई पठाएको विषयमा ठुलै आशंका मात्रै गरिएको थिएन, कार्यालयमा तालाबन्दीदेखि प्रहरी प्रशासनसम्म नै गुहार्नुपर्ने अवस्था सिर्जना भएको थियो । तर यही बीच मन्त्रालयको सचिवस्तरीय निर्णयबाट चैत्र २८ गते खानेपानी तथा ढल निकास विभागमा सरुवा गर्‍यो ।

सोही दिन २ः३० मा सरुवाको खबर पाएका निमित्त प्रमुख साहको ३ः०० बजे सचिवस्तरीय निर्णयबाट नै आर्थिक तथा प्रशासनिक अधिकार खोसिएको अर्को पत्र पठाइयो । मन्त्रालयका सहसचिव राम बाबु पूरीले कुर्सी र आवास खाली गर्न अमानवीय दबाब दिएको साहको गुनासो छ ।

साहले निवेदनमा भनेका छन्, “मलाई डिप बोरिङ सम्बन्धी अनुमानित ७ करोडको काम मन्त्रीज्यूको मान्छे पर्सा निवासी एजाज बाबुलाई उपभोक्ता समितिमार्फत दिन मन्त्रीका निजी भक्तराज जोशीले दबाब दिए । मैले अनियमितता गर्न नमानेपछि मलाई सरुवा गराइयो ।” उनले मन्त्रालयको यो कदम अनुचित भएको भन्दै छानबिन टोली गठन गरी सत्य तथ्य पत्ता लगाउन र आफूलाई सोही जिम्मेवारीमा पुनर्बहाली गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको