रौतहट, कात्तिक १८। रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति करिब ९ः१५ बजे भएको गोली प्रहारबाट स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गोलीका छर्रा यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी छ स्थानमा लागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ७।६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन्।
यादवमाथि कसले र किन गोली प्रहार गरेको हो भन्ने खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।




