श्याम कुमार ठाकुर
सिराहा, साउन ८ । मिर्चैया नगरपालिका–६ स्थित हिल पार्कमा साइकल दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अर्का बालक घाइते भएका छन्।
बिहिबार दिउँसो करिब ४ बजेतिर दुई जना बालक साइकलमा पार्क घुम्ने क्रममा अनियन्त्रित भई लडेका थिए। दुर्घटनामा मिर्चैया नगरपालिका–५ निवासी अशोक मण्डलका १३ वर्षीय छोरा अभिषेक मण्डलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले पुष्टि गरेको छ।
साइकलको पछिल्लो भागमा बसेका मिर्चैया–५ निवासी विष्णु ठाकुरका १२ वर्षीय छोरा विकास ठाकुर घाइते भएका छन्। घाइते ठाकुरलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जनाइएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ।
स्थानीयहरूका अनुसार पार्क क्षेत्रमा सवारी साधन चलाउने क्रम बढेसँगै यस्ता दुर्घटनाको जोखिम बढेको भन्दै सुरक्षा उपायमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।









