राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी बाँधमा शुक्रबार भएको दुर्घटना परी घाइते मध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका विन्देश्वर पैकराको छोरा मोटरसाइकल चालक २१ वर्षीय लक्ष्मण पैकरा रहेको छ। उनको शुक्रबार रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २६ प ६४०१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र–१०२–००३ ह ३५२१ नम्बरको सिटीले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पैकराको विपि कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सावार कञ्चनरुप नगरपालिका ७ का हिरा लाल महतोकी छोरी अन्दाजी बर्ष १९/२० की काजल भन्ने चन्दा मेहताको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । दुर्घटनामा सुनसरी कोशी गाउँपालिका ८ का सिटी चालक बर्ष २० का संतोष कामैत सामान्य घाइते भएका थिए ।
मोटरसाइकलमा सवार घाइते दुबैजनालाई तत्कालै स्थानीयको सहयोगमा प्रहरीले उद्वार गरी उपचारको लागि अस्पताल पठाएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ ।
घाइते युवतीको धरानमा भेन्टिलेटरमा राखी उपचार भइरहेको तथा सिटी र सिटी चालकलाई इलाका प्रहरी कार्यालय भारदरको नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
गत भदौ ३० गते सोही ठाउँमा तीब्रगतिमा रहेको माइक्रोबसले पैदल यात्रीलाई ठक्कर दिँदा १५ महिने बालकको मृत्यु भएको थियो भने ५० वर्षीय एक महिला गम्भीर घाइते भएकी थिइन् । घाइते महिलाको विराटनगरमा उपचार गराइरहेकी छन्।




