जलेश्वर, माघ ८ । मटिहानीका अग्निपीडितहरुले १० महिनापछि खानेपानीको समस्याबाट राहत पाएका छन ।
मटिहानी ६ जरलहवा गाछीमा १० महिना अघि भएको आगलग्गीका कारण खानेपानीको सहज आपूर्तीबाट बञ्चित भएका पीडित परिवारहरुले बल्ल राहत पाएका छन ।
बस्तीमा एकसाथ ६ वटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिकाले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।
“आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो”, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भन्नुभयो, “आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।” सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।
सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी मज्जाले आएपछि खानेपानी समस्या अन्त्य भएको सो बस्तीकी अर्की गृहिणी हसिना खातुन बताउनुहुन्छ । “ट््युबेलबाट एकदम राम्रो पानी आएको छ, हामीलाई अब ठूलो राहत भयो”, उहाँ भन्नुहुन्छ, “यसपालि हामीलाई परेको विपद्बाट मानवता सिद्धिएको रहेनछ भन्ने थाहा पायौँ ।” बस्तीका आगलागीपीडितले खानेपानीको प्रबन्धमा अलि ढिलो भए पनि दुःख परेका बेला टाढाटाढाबाट सहयोग लिएर आउनेको बलमै आफूहरू बौरिएको बताउँछन् ।
“आगलागीमा घरका सामान केही बचेका थिएनन्, तर मनकारीहरूले हामीलाई पिउने र लत्ताकपडा केही कमी हुन दिएनन्, सबै पायौँ”, बस्तीकी लखनदेवी पासवान त्यतिखेरको आपत् सम्झँदै भन्नुहुन्छ, “लाग्थ्यो, अब जीवन अगाडि छैन ।” अरु प्रबन्ध मान्छेकै सहयोगले तत्काल जुट्दै गए पनि खानेपानीका लागि भने अलि लामो समय कुर्नुपरेको त्यहाँका बासिन्दाको प्रतिक्रिया छ ।
अग्निपीडित बस्तीमा खानेपानीको प्रबन्धका लागि डिपट्युबेल जडान गर्ने आर्थिक स्रोत जुटाइदिने र सोको पहलकदमी लिइदिने संस्थाप्रति मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले आभार व्यक्त गर्नुभयो । बस्तीका वरिपरि छ ठाउँ जडान भएका डिपट्युबेल सो बस्तीका कुनै पनि घरबाट एक मिनटभन्दा बढीको दूरीमा नरहेका मण्डलले बताउनुभयो ।




