सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा



काठमाण्डौ, माघ ८ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

काठमाण्डौ जिल्ला अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैङ्क ग्यारेन्टी बुझाएर हिजो बेलुका रिहा भएको जानकारी दिनुभयो । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाण्डौ जिल्ला अदालतबाट ६० लाख बैङ्क ग्यारेन्टी बुझाएर छुटेका छन् । तर रवि र छविलालविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।



यसैबीच पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश बदरको मागसहित सरकारी वकिल कार्यालयले उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएको बताउनुभएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछाने र जोशीसहित ७ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको