जनकपुरधाम, माघ ११ । मोटरसाइकलको ठक्करबाट मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका एक चालकको मृत्यु भएको छ ।
जनकपुरधामस्थित मधेस भवन अगाडि मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालको चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्रालयका चालक लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर १ बस्ने देवेन्द्र यादव रहेका प्रहरीले जनाएको छ ।
आज बिहान कार्यालय आउन लाग्दा देवेन्द्र सवार मोटरसाइकल र विद्यार्थीहरुले चलाउँदै आएको दुइवटा मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।
मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।




