ओम प्रकाश यादव
रौतहट, माघ ११ । रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ। जिल्लाको गरुडा नगरपालिका (४ गरुडा स्थित रहेको श्रीराम सुगर चिनी उद्योगको ग्राउण्डमा प्रथम गरुडा व्यापार महोत्सव(२०८१ आज शुक्रबारदेखि सुरु भएको छ ।
गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको हिजो बिहीवार एक कार्यक्रमबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले उदघाटन गरेका थिए ।
उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान सहज रुपमा उपलब्ध गराउने तथा गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघले जनाएको छ।
१५ दिनसम्म चल्ने महोत्सवले स्थानीय व्यापारीहरुको व्यापार व्यवसाय फस्टाउने र उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतीश साहले बताएका छन् ।
महोत्सवमा हाल ५० भन्दा बढी स्टल राखिएको बताउँदै अध्यक्ष साहले स्टलको संख्या १ सय भन्दा बढीको हाराहारीमा पुग्ने बताए । गरुडा नगरपालिका बाहेक अरु पालिकाको व्यापारीले पनि महोत्सवमा आफ्ना सामानहरू बिक्री गर्न पाउने साहले बताए ।
महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, मेसिनरी औजार, मेसिनरी सामानका पार्टपुर्जा, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानलगायत स्टल रहेका छन् ।
महोत्सवमा कृषि तथा हस्तकलाका साथै भाँडाकुँडाका सामग्री समेत राखिएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विभिन्न किसिमका खेलतमासाका साथै मनोरञ्जनका लागि नाचको पनि व्यवस्था गरिएको छ।
हाललाई महोत्सवको १५ दिनको समय तोकिएको बताउँदै गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले व्यापार राम्रो चलेपछि महोत्सवको समय अझै बढ्न सक्ने बताए । महोत्सवमा करिब ५ देखि ८ करोडको कारोबार हुने अपेक्षा गरिएको गरुडा नगर प्रमुख जयसवालले बताए । महोत्सवमा दुई लाख भन्दा बढि उपभोक्ताले मेलाको अवलोकन गरी सेवा प्राप्त गर्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सवमा फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, ग्रामीण प्रविधि, घरेलु मौलिक उत्पादन तथा अटोमोबाइलको प्रदर्शनीसमेत गरिने बताइएको छ। महोत्सवमा बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा रौतहट सहित सर्लाही, बारा र आसपासका जिल्लाका बासिन्दाले लाभ लिन सक्नेछन् ।




