राजविराज, माघ १२ । लामो समयदेखी बन्द रहेको बिरगञ्ज कृषि औजार कारखाना पुनःसंचालनमा ल्याउने अठोटका साथ यसको खर्च जुटाउन किताब बेच्दै हिडेका बैज्ञानिक डा. महाविर पुन शनिबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका छन् ।
लगातारको शितलहरको प्रवाह नगरि टाउँकोमा किताबको बण्डल राखेर म्याकिङ गर्दै निस्केका उनी शनिबार दिनभरी राजविराजमा पुस्तक बेच्न व्यस्त रहेका हुन् । आफैले लेखेर प्रकाशन गरेको आफ्नै आत्मकथा “सम्झना, सपना र अबिरल यात्रा” नामक पुस्तक लिएर बेच्न निस्केका उनले शनिबार दिनभरीमा ४३ थान पुस्तक बेच्न सफल भएका छन् ।
त्यसबाट प्राप्त भएको रकम बिरगंजस्थित कृषि औजार कारखानाका लागि बैंकमा खोलिएको खातामा आइतबार बैंक खुलेपछी जम्मा गर्ने उनले बताएका छन् ।
कृषि प्रधान मुलुकमा किसानका लागि चाहिने कृषि उपकरण उत्पादन गर्ने बिरगंजस्थित कृषि औजार कारखाना विगत ३० वर्षदेखी बन्द अवस्थामा रहेकाले त्यसको पुनःसंचालनका लागि अभियान स्वरुप किताब बेच्न निस्केको उनले बताएका छन् ।
यो अभियान पैसा कमाउनका लागि नभई बिशुद्ध रुपमा किसानहरुको सेवाका लागि भएको उनले स्पष्ट पारेका छन् ।
बिदाको दिन परेपनि ठण्डिको प्रवाह नगरि नगरका चौक चौक र गल्लि गल्लि चहारेर पुस्तक बिक्रिमा सक्रिय रहेका उनलाई स्थानियले समेत साथ दिएका छन् ।
शनिबार बिदा परेका कारण रात्री बिश्राम यही गरेर आइतबार विद्यालय, कलेज, पालिका र विभिन्न सरकारी कार्यालय समेत पुगेर पुस्तक बिक्रि गर्ने उनको योजना छ ।
विगत ३ सय ७ दिनदेखी पुस्तक बिक्रिका लागि मेची महाकालि अभियानमा निस्केका उनले अहिलेसम्म १ लाख ५५ हजार ५ थान पुस्तक बेचेर करिब ९ करोड रुँपैया संकलन गरिसकेका छन् । जसबाट जिर्ण अवस्थामा रहेको बिरगंज कृषि औजार कारखानाको मर्मत सम्भार तथा स–साना किसानको खेती प्रयोजनका लागि प्रयोग गरिने १५ किसिमका औजार बनाएर परिक्षण समेत गरिसकिएको डा. पुनले जानकारी दिएका छन् ।
सरकारी स्वामित्वमा रहेको उक्त कारखानाको बेहाल देखेर आफूले यसलाई पुर्नजिवन दिने अठौटका साथ यो अभियान चलाएको उनले जनाएका छन् ।




