ओम प्रकाश यादव
रौतहट, माघ १२ । रौतहटको गरुडा नगरपालिकाले चिसोबाट आम नागरिकलाई जोगाउन न्यानो सिरक र दाउरा धमाधम वितरण गर्न थालेको छ।
केहीदिन यता रौतहट सहित तराई मधेशमा सुरु भएको शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेपछि गरुडा नगरपालिकाले चिसोबाट जोगाउन गरिव एवं विपन्न परिवारलाई सिरक तथा दाउरा वितरण गरिरहेका छन्।
चिसो अत्यधिक बढेका कारण चिसोबाट जोगाउन नगरका अति गरिव एवं विपन्न परिवार सहित ज्येष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट न्यानो कम्बल र दाउरा वितरण गर्ने कार्यलाई तीब्रता दिइरहेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन्।
अहिलेसम्म पालिकाभित्रका सबै वडामा गरी १५ सय भन्दा बढी गरिव एवं विपन्न परिवारका व्यक्तिलाई न्यानो कपडा वितरण गरिसकेको र अझै बाँकी परिवारलाई सिरक वितरण गर्ने क्रममा रहेको नगर प्रमुख जयसवालले बताए ।
त्यस्तै गरुडा नगरपालिकाको हालसम्म वडा नं ८ जिङ्गडिया, वडा नं ९ रघुनाथपुर, वडा नं ७ भिमडावर, र वडा नं ४ गरुडाका चिसो प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको मेयर कन्थमणि जैसवालले जानकारी दिए ।
पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोबाट नगरवासीलाई बचाउन गरुडा नगरपालिकाले सिरकसँगै दाउरा बितरण गरिरहेको छ।
चिसोबाट कसैको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यले आफूले गरिव, दलित, विपन्न परिवार एवं जेष्ठ नागरिकहरुलाई न्यानो सिरक र दाउरा वितरण गरेको मेयर जयसवालले बताए ।
चिसोले जनजिवन प्रभावित भएपछि गरुडा नगरपालिकाले न्यानो कपडा र दाउरा वितरण गरेपनि जिल्लाको अन्य पालिकाको चिसोबाट आम नागरिकलाई जोगाउन न्यानो कपडा तथा दाउरा वितरण गर्न कुनै चासो देखाएका छैनन्।




