काठमाडौं, माघ १२ । राजा सहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा भाँड भैलो मचेको छ ।
राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठकमा एक पक्षले अर्को पक्षको आलोचना गर्न थालेपछि भाँडभैलो मचेको छ ।
बैठकमा महामन्त्री धवल सम्सेर राणाले अध्यक्ष माथि १६ बुन्दे प्रश्न तेस्याउदै फरक प्रतिवेदन पेश गरेपछि एक अर्काको आलोचना शुरु भएको छ ।
महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको दस्तावेजको अर्को पक्षले चर्को आलोचना गरेको छ । बैठकमा प्रस्तुत राणाको विचारपत्र नामको राजनीतिक दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै चर्को आलोचना भएको हो ।
४० वर्षमुनिका केन्द्रीय सदस्य राणाको प्रतिवेदनलाई लिएर आक्रोशित देखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । शुक्रबारदेखि सुरु भएको बैठकमा महामन्त्री धवलशम्शेर राणाको विचार भनेर केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन । त्यसपछि बोलेका केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भन्दै आलोचना गरे ।
महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले थालेको खुल्ला आवेदनमार्फत पार्टीमा २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रकृयालाई दुष्कर्मको संज्ञा दिएकोमा पनि अधिकांश केन्द्रीय सदस्यले विरोध जनाएका छन ।
राणाको दस्तावेजमा संगठन कमजोर बन्दै गएको भन्दै अध्यक्षलाई दोषारोपण गरिएको एक केन्द्रीय सदस्यले बताए । तर, शनिबार बोल्ने केन्द्रीय सदस्यहरूले राणा नै तीन वर्षसम्म संगठन विभाग प्रमुख रहेकोले उनले अध्यक्षमाथि दोष थोपर्न नमिल्ने भन्दै आलोचना गरेका थिए ।
बैठकमा बोलेका सहमहामन्त्री धनबहादुर बुढाले दस्तावेजमार्फत राणाले अध्यक्ष लिङदेनको निष्ठामा प्रश्न उठाएको भन्दै गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरेका थिए ।
‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?’ बुढाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?’
अर्का सहमहामन्त्री प्रकाश रिमालले राजेन्द्र लिंग्देनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुन टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको बताएका थिए ।
केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरे । ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिह्नमा चुनाव लड्न जाने नेताचाहिं चाहिने ?’ महामन्त्रीलाई उनको प्रश्न थियो ।
केन्द्रीय सदस्य लोकेन्द्र कुँवरले पनि ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य बनाउने नवीन राप्रपाको कार्यक्रमको समर्थन गर्दै राणाको आलोचना गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरूले बोलिसकेपछि पार्टीका पदाधिकारीहरूले बोल्ने र निर्णय गरेर बैठक सम्पन्न गरिने राप्रपाले जनाएको छ ।
अध्यक्ष पक्षधर केन्द्रिय सदस्यहरुले राणाको आलोचना गरे पछि राणा पक्षधरहरु समाजिक संजाल मार्फत प्रतिबाद गर्न थालेका छन ।
राणाको बचाउँमा समाजिक संजालमा उत्रिएका नेता कार्यकर्ताहरुले राप्रपाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्यलाई अर्को पार्टीैबाट आएको भन्दै आलोचना गर्नु पार्टी राम्रो संकेत नभएको बताएका छन ।
राप्रपाका एक जना केन्द्रिय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा केन्द्रिय समितिको बैठकमा देखिएको अवस्था राप्रपाको लागि सुखद नभएको बताएका छन ।
आज बिहानै एक रेडियो कार्यक्रममा महामन्त्री राणाले राप्रपा कसैको एकलौटी नरहेको भन्दै आफु पार्टीको हितमै फरक प्रतिवेदन प्रस्तुत गरेको बताएका छन । आफनो अडानमा अडिग देखिएका राणामाथि बैठकमा भएको आलोचनाले फरक रुप नलेला भन्न सकिन्न ।




