सर्लाही सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना



काठमाडौं, माघ १३। नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।

जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै उनीहरूले आइतबार मध्याह्न धर्ना दिएका हुन्।



पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट वन मुद्दामा भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट बर्खास्त गर्नुपर्ने बताए।

यसअघि उनीहरूले गत पुस ९ गते केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न माग गरेका थिए।

सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो। तैपनि उनी सर्लाही सभापति पदमै छन्।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकोले जिल्ला सभापतिबाट बर्खास्त उनीहरूले माग गरेका हुन्।

प्रकाशित मिति: २०८१ माघ १३, आईतवार १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको