सप्तरी, माघ १५ । तीन वर्षदेखी चल्दै आएको जग्गा अंश मुद्दामा मंगलबार मेलमिलाप मार्फत टुंगो लगाइएको छ । उच्च अदालत जनकपुर–राजविराज इजलाशको मेलमिलाप केन्द्रबाट मुद्दा टुंगो लगाइएको हो ।
यसरी मुद्दा मेलमिलापबाट टुंग्याइएपछी अदालत परिसरमै पक्ष र विपक्ष दुबै पक्ष अंकमाल गर्दै खुशी साटासाट गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका ९ का रुपलाल चौधरी, मनोज चौधरी तथा सप्तकोशी नगरपालिका ७ ओद्राहाका शिवनाथ चौधरी, अमलबत्ति चौधरी, रामानन्द चौधरी र निलम चौधरीबीच चल्दै आएको अंश मुद्दा २०७९ साल चैत २७ गते सप्तरी जिल्ला अदालत पुगेको थियो ।
त्यहा विवाद नटुंग्इएपछी २०८० भदौं २९ गते उक्त मुद्दा उच्च जनकपुर–राजविराज इजलाश समक्ष पुगेको थियो । उक्त मुद्दालाई उच्च अदालत जनकपुर–राजविराज इजलाशले मेलमिलाप केन्द्रमार्फत टुंग्याएपछी मुख्य न्यायाधिश बामदेव ज्ञवालीले उक्त कार्यमा सहजकर्ताको भूमिका निर्वाह गरेकाहरुका साथै दुबै पक्षलाई फुलमाला, खादा र टिका लगाएर सम्मान समेत गरेका छन् ।
चालु आ.ब. २०८१÷८२ मा आएको मुद्दा मध्ये १ सय ३७ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाइएको थियो । जसमध्ये मंगलबार पहिलो मुद्दाको टुंगो लागेको रजिष्टार लोकनाथ पराजुलीले बताए ।
उक्त अवसरमा मुख्य न्यायाधिश ज्ञवालीले स–साना मुद्दामा पनि लामो समय अदालतमा धाउनु पर्ने, बढी खर्च व्यहोर्नु पर्ने, ऋण काढेर पनि मुद्दा लड्नु पर्ने अवस्थालाई मेलमिलाप मार्फत टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने बताए ।
सर्वोच्च अदालतको पनि इजलाशबाट मुद्दाको फैसला भन्दा मेलमिलापबाटै समाधान होस् भन्ने मनसाय रहेको बताउँदै उनले तीन वर्षदेखी मुद्दामा रहेका दुबै पक्ष मेलमिलापबाट सन्तुष्ट हुँदा आफूलाई पनि खुशी लागेको बताए ।




