सप्तरी , माघ १७। सप्तरी स्थित तरकारी हाटमा विभिन्न रङ्ग र फरक स्वादका काउली तर्फ उपभोक्ताको आकर्षण बढदै गएको छ ।
रङ्गीचङ्गी काउलीको स्वाद चाख्ने अभिप्रायले यहाँका उपभोक्ताहरु विभिन्न रङ्गगका काउली तर्फ आकर्षित भएका हुन । राजविराज ७ स्थित तरकारी हाट बजारमा अहिले सेतोका साथै हरियो, गुलाबी, बैजनी र पहेलो रङ्गको काउली पनि विक्री हुन थालेको छ । राजविराजका सर्वसाधारणले फलफुल तथा तरकारी किनमेल गर्ने उक्त प्रमुख बजार हुन ।
सेतो रङ्गको काउलीको स्वाद बाह्रै महिना चाख्न पाएका उपभोक्ता अहिले तरकारी बजारमा अन्य रंगका काउलीहरु पनि पाउन थालेपछी फरक स्वादका लागी रङ्गी चङ्गी काउली किन्ने गरेको तरकारी ब्यवसायी कुशेश्वर साहले बताए । यद्धपी सेतो काउली भन्दा अन्य रंगका काउलीको मुल्य भने मंहगो पर्ने गरेको उनको भनाई छ ।
सेतो काउली अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म पर्ने गरेकोमा गुलावी, पहेलो र बैजनी रंगका काउली भने प्रतिकेजी ७५ देखि सय रुपैयाँ सम्म पर्ने गरेको राजविराज ७ का उपभोक्ता उमाशंकर साहले बताए । अर्का तरकारी व्यवसायी भूपेन्द्र यादवले रंगी चंगी आकषर््ाक काउली हेर्न र मोवाइलमा फोटो खिच्ने सर्वसाधारणको भीड समेत लाग्ने गरेको सुनाए । उनले रंगीन काउलीका लागि भारतबाट काउलीको विऊ झिकाएर खेतीपाती गरेको र उत्पादन खर्च बढ्न जाँदा रंगीन काउलीको मूल्य बढी राख्नु परेको सुनाए । यसको रंग र स्वाद फरक भएकाले हाट बजारमा ल्याउना साथ बिकी हुन्छ, उनले भने– बिहीवार मात्र १० किलो काउली ९० रुँपैयाको दरले बेच्न सफल भए ।
सप्तरीकिो तुलनामा सिराहाका किसानहरुले विभिन्न रंग र फरक स्वादका काउली फलाउन थालेको र यहाँका कतिपय तरकारी व्यवसायी सिराहाको गोलबजारबाट उक्त रंगी चंगी काउली खरिद गरेर ल्याई बिक्री गर्न थालेको तरकारी व्यवसायीहरुको भनाई छ ।






