ओम प्रकाश यादव
रौतहट, माघ १७ । रौतहट प्रहरीले पछिल्लो साढे छ महिनामा तिन सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत गौरबाट दण्ड सजाय तोकिएर लामोसमयदेखी फरार रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ ।
अदालतबाट दण्ड सजाय तोकिएर अधिकांश प्रतिवादीहरु लामोसमय सम्म पनि प्रहरीको सम्पर्कमा नआएर लुकीछिपी बस्दै फरार रहँदै आएका कारण रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुलाई फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गर्न निर्देशन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी घिमिरेको ठाडो निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत गएको साढे ६ महिनामा ३ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन ।
साउन, भदौ, असोज, कार्तिक, मंसिर, पुस र माघ महिनाको १५ गतेसम्मको अवधीमा विभिन्न मुद्दामा फरार उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन् ।






