जनकपुरधाम, माघ १८ । लामो समयको चर्चा पछि मधेश केन्द्रित दलहरु बीचको मोर्चाले आकार लिन थालेका छन ।
एक अर्का संग पानी बाराबारको अवस्थामा रहेका मधेश केन्द्रित दलका नेताहरु एउटै टेवलमा बसेर कुराकानी गर्दै मोर्चालाई औपचारिक रुप दिन थालेका छन ।
प्रयास त लामो समय देखी भै रहेको थियो , स्वरुपमा मात्र अहिले देखिन थालेको छ, जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन भन्छन,‘हिजोको बैठकले ब्रेक थु्र भएको हो । अव सशक्त भएको देख्नु हुन्छ । यस अघिकैे बैठकले कार्यदल बनाउने निर्णय गरेको थियो । तर संका कायमै थियो । हिजोको बैठकहरुले ती शंकालाई दुर गर्दै मोर्चा निर्माणको पथलाई सहज गरेको छ ।
मोर्चा निर्माणको बाटोलाई सहज बनाउन गठित आठ सदस्यीय कार्यदलको पहिलो बैठक आज सिंह दरबारमा बसेको थियो ।
मोर्चाको आवश्यकता माथिको अनौपचारिक चर्चाबाट शुरु भएको छलफल मधेश विद्रोहका विगतहरुलाई सम्झदै नेताहरु बीचको लामो समयको तिक्ता अन्त गर्ने प्रयास मात्रै गरेनन् प्रस्तावित मोर्चा नाम, आचार संहिता, मोर्चाको उदेश्य सहितको मोडालिटीका लागि दस्तावेजीकरण गर्ने जिम्मा तीन नेतालाई सु्म्पेको छ ।
बैठकले दस्तावेजीकरणको लागि जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन, राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झा र जनता प्रगतिशिल पार्टीका डा. शिवजी यादव सम्मिलित उपसमितिलाई दिएको छ ।
समितिले मोर्चाको नाम , अवधारणा, अचारसंहिता र एजेण्डाको खाका तैयार गर्ने र अर्को कार्यदलको बैठकबाट अनुमोदन गर्ने निर्णय गरेके जसपा प्रवक्ता एवं कार्यदलका सदस्य सुमनले बताए ।
उपसमितिलाई समय सीमा नतोकिएपनि जसपा नेपालको कार्यकारिणी समितिको बैठक पछि लगालग बसेर चाँडै खाका तयार गरिने उनले बताए ।
वैठकमा जसपा नेपाल बाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट शरदसिंह यादव, जसपा बाट इस्तियाक राई, राष्ट्रिय मुक्ति पार्टी बाट केशव झा, नागरिक उनमुक्तिबाट गंगाराम चौधरी जनता प्रगतिशिल बाट डा. शिवजी यादव, तमलोपाबाट ब्रजकिशोर सिंह सहभागी थिए ।






