जनकपुरधाम, माघ १९ । महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।
प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिर नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।
दुर्घटनामा मनोहर ठाकुर कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एक जना घाइते भएका छन्। घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ । दैनिक भास्करका अनुसार मृतक एवं घाइते सबै जनकपुरधामका एकै परिवारका हुन । तर बास्तविक पत्ता अहिले सम्म खुल्न सकेको छैन ।
उनीहरू कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन्। घाइतेलाई उपचारका लागि एसकेएमसीएचमा पठाइएको छ। तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिपले पाँच बल्ड्याङ खाएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।




