गजेन्द्र नारायण सिंह अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी



सप्तरी, माघ २० । सप्तरी सदुमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मेडिकल सुरपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरिएको छ ।
विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेसु डा.तिवारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
अस्पताल प्रशासनले २०८१ असार १६ गते प्रथम पटक करार सेवाका लागी भन्दै मेडिकल अधिकृत आठौं तहका लागी ५, अहेव चौथो तहका लागी ८, मेडिकल ल्याब टेक्नोलोजिस्ट सातौ तहका लागी २ र सहायक कम्प्युटर अपरेटर चौथो तहका लागी ३ जनाको पदपुर्तीका लागी सूचना जारि गरेको थियो । यस्तै अस्पताल प्रशासनले पुनः दोश्रो पटक सोही व्यहोराको सूचना २०८१ भदौ २४ गते प्रकाशित गरेको थियो ।
तर २०८१ माघ १८ गते उक्त सुचनाहरु संसोधन गर्दै तेश्रो पटक अस्पताल प्रशासनले जारी गरेको सूचनामा करार सेवाबाट पदपुर्ती गरिने पदहरुमा मेडिकल अधिकृत र स्टाफ नर्सका केही पदका लागी २०८१ माघ २१ गते लिखित परिक्षा हुने जानकारी गराएपछी आक्रोसित भएका आवेदकहरुले तालबन्दी गरेका हुन ।
आवेदक मध्येका एक देवकृष्ण यादवले करार सेवामा कर्मचारी भर्ना गर्ने विषयमा पटक–पटक फरक फरक सूचना निकालेर अस्पताल प्रशासनले आवेदकलाई अलमलमा पारेको बताए । अर्का आवेदक कृष्णनाथ यादवले प्रथम र दोश्रो पटक प्रकाशित सूचना अनुसार नै अस्पताल प्रशासनले परिक्षाको व्यवस्था मिलाउनु पर्ने माग गरे ।
“आवेदकलाई अलमलमा पार्न तेश्रो पटक मेडिकल अधिकृत र स्टाफ नर्स पदका लागी लिखित परिक्षा लिइने अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ, उनले भने–त्यसमा पनि पद संख्या नतोकि “केही” शब्दको प्रयोगले विभिन्न खाले शंका उब्जाएको छ ।
तेश्रो सूचनामा प्रकाशित मिति समेत नभएको उनले सुनाए । अर्का आवेदक राजु बाबु झाले तेश्रो पटक गरिएको सूचनामा आवेदन भर्न ५ दिनको मात्र म्याद दिइएको र त्यसमा पनि माघ १६, १७ र १९ गते लगातार तीन दिन सार्वजनिक विदा नै परेकाले अस्पताल प्रशासनले गडवडी गर्ने नियतले यस्तो सूचना निकालेको आरोप लगाए ।
आवेदकहरुले पटक–पटक सूचनाको व्यहोरा परिवर्तन गरी अस्पताल प्रशासनले आवेदकलाई अलमलमा राख्ने र आफन्तलाई भर्ना गर्न खोजेको आरोप समेत लगाएका छन । उनीहरुले अस्पताल प्रशासनले प्रथम र दोश्रो पटक गरेको सूचना अनुसार नै सबै पदका लागी परिक्षा लिने सुनिश्चितता नगरे सम्म ताला नखोल्ने अडान लिएका छन ।
यसबारे मेसु तिवारीसँग सम्पर्कको प्रयास गर्दा उनी काम विशेषले जिल्ला बाहिर गएकाले सम्पर्क हुन सकेन । अस्पताल प्रशासनले छलफलबाट उक्त समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ २०, आइतवार १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको