काठमाडौँ, माघ २३ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ गरेको छ ।
झापाको कनकाई नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३० ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार डिगल बैंक थाना–५ घर भएका २८ वर्षीय अन्जार आलम र उनकै भाइ १९ वर्षीय युसुब आलम रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन् । घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्राम र मोबाइल १ थान सहित उदयपुर रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने २८ वर्षीय पदम बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम र मोबाइल १ थानसहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१० बस्ने २४ वर्षीय रोहित कुमार मण्डललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिजयनगर गाउँपालिका–४ बरगदा बस्ने २८ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका–३ कडियार बस्ने २५ वर्षीय मैराज अहमद रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–१ खडक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका–१ ब्लक नम्बर १३ बस्ने २२ वर्षीय अंकित चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१५ भीमसेन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रोल्पा, रोल्पा नगरपालिका३ घर भएका टेकराज गुरुङ र २५ वर्षीय तनुज श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




