ओम प्रकाश यादव
रौतहट,माघ २३ । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
नदीमा डुबेर जिल्लाको राजदेवी नगरपालिका – ७ मुडवालवाका शिक्षक उमेश प्रसाद यादवको २२ वर्षीय छोरा सुरज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरस्वतीको मूर्ति सेलाउन जाँदा नुहाउने क्रममा मंगलबार साझ बागमती नदीमा डुबेर बेपता भएका सुरजको शव आज बिहान नदी किनारमा फेला परेको थियो।
डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै नेपाली सेना,सशास्त्र प्रहरी,नेपाल प्रहरीको साथै स्थानीयहरूले खोजी गरिरहेका थिए।
उनको शव आज बिहान डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन् ।
पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको बताउँदै डिएसपि रायले मृतकको शव पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको बताए ।
सावधानी न अपनाउँदा रौतहटमा प्रत्येक वर्ष सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर विद्यार्थीको मृत्यु हुने गरेको छ।
बीच नदीमा मूर्ति सेलाउन खोज्दा गहिरो पानीमा पौडी खेल्न न जानेर विद्यार्थीको अकालमै मृत्यु हुने गरेको देखिएको छ।




