ओम प्रकाश यादव
रौतहट, माघ २४ । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले निर्माण हुँदै गरेको गरुडा नगरपालिका कार्यालय भवनको अनुगमन निरीक्षण गरेका छन्।
गरुडा स्थित पशु बजारमा निर्माण भइरहेको नगरपालिका कार्यालय भवनको मेयर जयसवालले आज बिहान अनुगमन गरेका हुन ।
अनुगमनका क्रममा मेयर जयसवालले निर्माणको प्रगति, गुणस्तर, र समयसीमाबारे जानकारी लिँदै सम्बन्धित निर्माण कम्पनीलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छन्।
आउँदो अषाढमा नगरपालिका भवनको उद्घाटन गर्ने लक्ष्यका साथ तिब्र गतिमा निर्माण हुँदै गरेको भवनमा कुनै प्रकारको लापरवाही नगरी गुणस्तरिय र ठोस काम गर्न मेयर जयसवालले निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
निर्माण कम्पनीले कुनै प्रकारको लापरवाही नगरोस् भन्ने उद्देश्यले आफु बेला बेलामा आफैं उपस्थित भएर काम गराउने गरेको उनले बताए।
अनुगमनले निर्माण कार्यलाई थप गति दिने विश्वास गरिएको छ।
१५ करोडको लागतमा नगरपालिकाको तीन तले भवन निर्माण हुने उनले बताए।
पहिलो चरणमा एक तला भवन आउँदो अषाढ महिनामा निर्माण भइसक्ने र अषाढमा एक तले नव निर्मित भवनको उद्घाटन गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखिएको उनले बताए।
गरुडा नगरपालिकाको आफ्नो प्रशासनिक भवन नहुँदा स्थापना भएदेखि नै नगपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ।




