ओम प्रकाश यादव
रौतहट, माघ २५। प्रत्येक वर्ष झै यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला शुरु भएको छ । श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठुलो फर्निचर मेला लागेको हो ।
गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमी देखी शुरु भई झण्डै दुई महिना सम्म लागदै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ । गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा बजारभन्दा तिन किलोमिटर दक्षिण ग्रामीण क्षेत्र जयनगरमा लागेको फर्निचर मेला सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला हो ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । मेलामा रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगाएत जिल्लाका फर्निचर व्यवसायीहरुले अत्याधिक मात्रामा फर्निचर र फलामका सामग्री बिक्रीका लागि ल्याएका छन् ।
मेलामा बक्स पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चरपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, ढोका, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करीब सबै काठका फर्निचर सामग्रि मेलामा ल्याइएको छ भने फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगातका सामग्री पनि बिक्रीका लागि राखिएको छ ।
देशका विभिन्न भागबाट मेलामा फर्निचर आउने क्रम अझै जारी नै रहेको छ । मेलामा देशको विभन्न ठाउँका साथै भारत विहारबाट पनि आएर कतिपयले आफना घरायसी प्रयोजनका लागि फर्निचर किन्ने गरेका छन भने कतिपयले खरिद बिक्रीका लागि पनि फर्निचरका सामग्रीहरु किन्ने गरेका छन ।
हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा फर्निचर व्यवसायी पनि उत्साहित हुदै गएका छन् । दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ ।
अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको पाइएको छ । आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मक रूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउछन् ।
मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् ।
फर्निचर मेलामा काठबाट बनाईएको दराज, ढोका, झयाल, पलंग,डेस्क ब्रेन्च, कुर्सि, टेबुल लगाएतका सामग्रीका साथै फलामको पनि सबै सामग्री बिक्रीका लागि राखिएको हुँदा यो सबै फनिर्चरको लागि अन्यत्र जानु नपरेको गरुडा नगरपालिका–२ गेडहीका विवेक शर्मा बताउँछन ।
यो मेलाले गर्दा फर्निचरका सम्पूर्ण समानहरु एकै ठाउँमा भेटिरहेको र त्यो पनि सस्तो परिरहेकाले आफुलाई यस मेलामा फर्निचरका सामग्री किन्दा खुसि लागेको दिपहीका सुरेश रायको भनाई छ ।
यो मेलामा बिक्री गर्नको लागि विश्वकर्मा लोहार जातीले २÷३ महिना अघिदेखी नै फर्निचरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गर्छन ।
अहोरात सम्म खटेर मिहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानि गरिरहेका छन । हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ ।
मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको मेला समितिले जनाएको छ ।
मेलामा यस वर्ष पाँच करोड रुपैयाको कारोबार हुने लक्ष्य राखिएको छ । समितिका अनुसार गत वर्ष ३ करोडको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकोले ५ करोडसम्मको कारोबार हुने पूर्व अनुमान गरिएको छ ।
२०६५ सालदेखी नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोवार पनि बढदै गएको समितिले जनाएको छ । यातायातको सुविधा भएको र तुलनात्मकरुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।






