राजविराज ,माघ २६ । नेपालमा प्रतिबन्धित लागु औषध गाँजा भारतको विभिन्न सहरमा मँहगोमा बिक्री हुने थालेपछि तस्करले नेपालबाट भारततर्फ गाँजा लैजान विभिन्न उपाय निकाल्न थालेका छन् ।
यसैक्रममा शनिबार विहान २ बजे तिर सप्तरी प्रहरीले २ वटा स्र्कापियो गाडीबाट ठुलो परिमाणको गाँजा बरामद गरेको छ । अग्रभाग बाहेकका सबै सिट हटाएर दुवै गाडीमा ३० ओटा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ७२६ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मौवहा मल्हनियाँका ईन्चार्ज प्रहरी सहायक निरिक्षक हेमन्त तामांग नेतृत्वको गस्तीटोलीले हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदेबर्साइन नगरपालिका ३ विहुल पुल नजिकैबाट उक्त परिमाणको गााँजा नियन्त्रणमा लिइएको शनिबार नै जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
गाँजा तस्तकरीमा २ ओटा स्र्कापियो गाडीको प्रयोग भएपनि प्रहरीलाई देख्नासाथ एउटा गाडी लिएर चालक भाग्न सफल भएको र अर्को प्रदेश–०१–०२–००२ च५८३४ नं. को गाडी भने पक्राउ गरिएको प्रहरी उपरिक्षक खतिवडाले बताए ।
भारत तर्फ लैजान पुर्व उक्त क्षेत्रमा भण्डारण गर्ने र अनुकुल समय मिलाएर उता पुर्याउने गरेको सूचनाका आधारमा अहिले भारतीय सिमा नजिक पर्ने सो क्षेत्रमा निगरानी बढाएको प्रहरीको भनाई छ । यसरी तस्करीमा प्रयोग भएका दुवै स्र्कापियो गाडीले सो क्षेत्रमा गाँजा अनलोड गरीरहेकै बखत प्रहरी गस्तीटोली अचान त्यहाँ पुगेको र अँध्यारोको फाइदा उठाउँदै दुवै चालक एउटै स्र्कापियोमा चढी भाग्न सफल भएको प्रहरी उपरिक्षक खतिवडाले बताए ।
सोही पत्रकार सम्मलेनमा प्रहरी उपरिक्षक खतिवडाले प्रतिबन्धित लागु औषध गाँजा बरामदगी तथा आफनो क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रहरी सहायक निरिक्षक हेमन्त तामांग, प्रहरी हवलदार द्वय, उमेश कुमार पासवान, राजनारायण साह, प्रहरी जवान अर्जुन साह र मनिशंकर रामलाई प्रशंसा पत्र र नगद पुरस्कारबाट सम्मानित समेत गरे ।
यस अघि प्रहरीले सोही क्षेत्रबाट बालुवा गिट्टी बोकेको टिपरबाट गत मंसिर ३ गते १ हजार ७ सय १७ र पौष २८ गते १ हजार ६ सय ७० केजी गाँजा बरामद गरेको थियो ।
भारतमा प्रति केजी १५ देखि २० हजार रुपैया सम्ममा गाँजा बिक्री हुने गरेकाले नेपालतिर लुकिछिपी यसको खेती गरिरहेकाहरुले तस्करको माध्यमबाट विभिन्न उपाय निकालेर त्यस तर्फ लैजाने गरेको सूचनापछि अहिले भारतीय सिमासँग जोडिएको नेपाली क्षेत्रमा निगरानी कडा पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






