जनकपुरधाम, फागुन १ । मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैँकिङ्ग प्रयोगकर्ताको संख्या ८०.४८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ अनुसार यस प्रदेशमा मोबाइत तथा इन्टरनेट बैँकिङ्गको प्रयोगकर्ताको संख्या २५ लाख ९ हजार १८७ पुगेको हो । आव २०७९/८० मा भने यो संख्या १३ लाख ९० हजार २८५ रहेको थियो ।
प्रतिवेदन अनुसार मधेस प्रदेशको धनुषा जिल्लामा सबैभन्दा बढी मोबाइल तथा इन्टरनेट बैँकिङ्गको प्रयोगकर्ता रहेका छन् । धनुषामा ४ लाख १२ हजार ६४६, सिरहामा ३ लाख ६९ हजार ६८५, पर्सामा ३ लाख ६५ हजार ११७, सर्लाहीमा ३ लाख १६ हजार ६९३, बारामा ३ लाख ११ हजार ४८९, महोत्तरीमा २ लाख ५३ हजार ९०१, सप्तरीमा २ लाख ५१ हजार ७२० र रौतहटमा २ लाख २७ हजार ९३६ जना मोबाइल तथा इन्टरनेट बैँकिङ्ग प्रयोगकर्ता हुन् ।
राष्ट्र बैँकको प्रतिवेदन अनुसार यस अवधिमा प्रदेशको विभिन्न स्थानीय तहमा बैँकको शाखा र एटिएमको संख्यामा समेत वृद्धि भएको हो । राष्ट्र बैँकको प्रतिवेदन अनुसार २०८१ साल असार मसान्तसम्ममा मधेसमा कुल १ हजार ७५७ वटा बैँकको शाखा पुगेको छ भने एटिएमको संख्या ४८३ पुगेको हो । मधेस प्रदेशको विभिन्न जिल्लामा सञ्चालनमा रहेको शाखाहरुमध्ये वाणिज्य बैँकको ५८१, विकास बैँकको ८४, वित्त कम्पनीको ५१ र लघुवित्त वित्तीय संस्थाको १ हजार ४१ वटा शाखा रहेको छ ।
प्रतिवेदन अनुसार धनुषामा सबैभन्दा बढी बैँकको शाखा रहेको छ । धनुषामा विभिन्न बैँक तथा वित्तिय संस्थाको २५१ वटा शाखा रहेको छ । यस्तै, बारामा २४८, सर्लाहीमा २३९, सिरहामा २३१, महोत्तरीमा २२०, पर्सामा १९६, सप्तरीमा १९४ र रौतहटमा १७८ वटा शाखा रहेको छ ।
यस्तै प्रतिवेदन अनुसार धनुषामै एटिएम मशिनको संख्या सबैभन्दा बढी रहेको छ । धनुषामा ८४ वटा एटिएम मेशिन रहेको छ भने पर्सामा ८१, बारामा ७३, सिरहामा ६८, सर्लाहीमा ४६, महोत्तरीमा ४६, सप्तरीमा ४४ र रौतहटमा ४१ वटा एटिएम मेशिन रहेको छ ।




