जनकपुरधाम, फागुन ३ । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुशी’ पुस्तकको एक समारोहकाबीच विमोचन गरिएको छ । पत्रकार झाले मोडल कलेजका संस्थापक वीरेन्द्र कुमार साहको जीवनी तथा उनका संघर्षका कथाहरुलाई समेटेर लेखिएको पुस्तक ‘खुशी’ शनिबार एक समारोहकाबीच विमोचन गरिएको छ ।
पुस्तकको विमोचन पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले गरेका छन् । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि पोखरेलले सफलताको खुशी पाउनलाई धैर्यको बाँध टुट्न दिन नहुने बताए । उनले जीवनमा आउने कठिनभन्दा कठिन परस्थितिमा पनि आफ्नो धैर्यतालाई डगमगिन दिन नहुने बताए । उनले खुशी पुस्तकले यही सन्देश दिने विश्वास व्यक्त गरे ।
प्रदेशसभा सदस्य एवं मधेसका पूर्व मन्त्री रामसरोज यादवले खुशी पुस्तकले लक्ष्य प्राप्तिकालागि पाठक वर्गलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । खुशी प्राप्तिकालागि आफ्नो पाइला नडगमगाई अगाडी बढेपछि मात्रै सम्भव हुन्छ । उनले भने ‘लक्ष्य प्राप्तिपछिको खुशी नै सबैभन्दा उत्तम खुशी हो यो पुस्तकले युवा पीढीलाई लक्ष्य प्राप्तिकालागि युवा पुस्ताकालागि लेखक सुजीतकुमार झाले लेखेको पुस्तक खुशीले प्रेरणा दिनेछ ।’
अर्का प्रदेशसभा सदस्य रामअशिष यादवले जस्तोसुकै कमजोर स्थितिमा रहेपनि लक्ष्य हाशिल गर्न सकिने, संघर्ष गर्दै कसरी अगाडी बढ्ने र कठीन परस्थितिमा पनि आफ्नो अनुकुल वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषय वस्तु खुशी पुस्तकमा समेटिएकाले समाजकालागि उपयोगी पुस्तक साबित हुने बताए । यसका साथै प्रदेशसभा सदस्य यादवले युवाहरुलाई शिक्षा बिना खुशी प्राप्त गर्न नसकिने भएकाले शिक्षकको सम्मान गर्न समेत आग्रह गरे ।
नेपाल राजनीतिशास्त्र संघका अध्यक्ष विजय सिलवालले कुनै पनि व्यक्तिलाई देवता बनाउन तर्फ नलाग्न आग्रह गरे । उनले भने ‘कुनै पनि सफल व्यक्तिलाई देवता बनाउनु हुँदैन, असल बनाउन तर्फ लाग्नु पर्छ ।’ सिलवालले खुशी पुस्तकका लेखक सुजीतजी त्यसमा न्याय गरेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका प्राध्यापक डा। सुरेन्द्र लाभले कुनै पनि व्यक्ति अवसादमा पुग्दा स्वेट मार्टिनको मोटिभेसनल पुस्तकहरु पढ्छन्, खुशी पुस्तक पनि त्यस्तै रहेको बताए । उनले आफ्नै माटोका व्यक्तिको संघर्षका कथा खुशी पुस्तकको माध्यमले पढेर मोटिभेट हुने विश्वास व्यक्त गरे ।
उनले खुशी पुस्तक प्रेरणादायी पुस्तक त छँदैछ यसले मैथिली साहित्यको श्रीबृद्धि गरेको बताए । लेखक सुजीतजीले यो पुस्तकको माध्यमले मैथिली भाषाको सेवा समेत गरेको उनको भनाई थियो ।
प्राध्यापक डा. लाभले खुशी पुस्तकले एउटा बहादुरको कथा भनिरहेको छ, खुशी पुस्तककले बहादुरको इतिहास लेखेको बताए । उनले मोडेल कलेजका संस्थापक वीरेन्द्र साहले जसरी आफ्नो सफलताका यात्रा तय गर्नुभयो र त्यसलाई लेखक सुजीतजीले आफ्नो शब्दहरु दिएर जसरी खुशी नामक पुस्तकको आकार दिनु भयो यसकालागि दूबैजना बधाईको पात्र रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मोडेल कलेजका संस्थापक वीरेन्द्र कुमार साह र खुशी पुस्तकका लेखक सुजीतकुमार झा दूबैजनाले जनकपुरधामलाई खुशी हुने मौका दिनु भएको बताए । उनले वीरेन्द्रजी शिक्षाको माध्यमले र सुजीतजीले यो पुस्तकको माध्यमले हामीलाई खुशी हुने अवसर दिएकाले दूबैजना बधाईको पात्र रहेको बताए ।
कार्यक्रममा खुशी पुस्तकका मुख्य पात्र एवं मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले आफ्नो जीवनका
भोगाईहरु साझा गरे । उनले ईच्छाशक्ति भए आफ्नै मातृभूमिमै रहेर केही गर्न सकिन्छ, लक्ष्य प्राप्त गर्न सकिन्छ बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले वर्तमान समयमा युवाहरुमा कठिन परस्थितिको सामना गर्ने क्षमताको अभाव रहेको बताउँदै खुशी पुस्तक र खुशी पुस्तकका पात्र वीरेन्द्र साहको जीवनले पक्कै कठिन परस्थितिमा कसरी अगाडी बढ्दै जाने हो भन्ने शिक्षा दिने बताए ।
मैथिलीका गायक एवं संगीतकार सुनिल मल्लिकले जनकपुरधाम शिक्षाको क्षेत्रमा विकास गरिरहेको समयमा संस्कारको महल खडा गर्न तर्फ समेत केन्द्रित हुनु आवश्यक रहेको बताए । पछिल्लो समयमा युवा पुस्तामा संस्कारको अभाव देखिएको समयमा शैक्षिक क्षेत्रको माध्यमले के गर्न सकिन्छ भन्ने विषयमा बहसको आवश्यक्ता रहेको बताए ।
मल्लिकले कुनै सफल व्यक्तिको संघर्षका दिनहरुलाई जोडेर सफलताको कथा लेख्नु सामान्य विषय नरहेको बताउँदै पत्रकार एवं लेखक सुजीतजी यो पुस्तक लेखेर मैथिली साहित्यमा गुण त लगाउनु नै भएको छ यसका साथै युवा पुस्ताकालागि ठूलो उपहार दिनु भएको छ बताए ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले एउटा संचारकर्मीले संचारकर्म जस्तो संघर्षशील पेशामा लागेर भएपनि सुजीतजीले मैथिली भाषा साहित्यमा योगदान गरिरह्नु भएको छ यो हाम्रोलागि खुशीको विषय रहेको बताए । उनले भने ‘लेखक सुजीतकुमार झा हाम्रो शाखाको सदस्य हुनु हुन्छ, हाम्रो अभिभावक पनि हुनुहुन्छ त्यसैले यो हाम्रोलागि गौरवको क्षण हो ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले मैथिली भाषा साहित्यमा पछिल्लो समय कम काम भईरहेको समयमा यो पुस्तक आउनु सुखद संकेत रहेको बताए । उनले जनकपुरधामको विकासका लागि विभिन्न क्षेत्र तथा विधामा काम गर्नु आजको आवश्यक्ता रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मनोज चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठ, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, पुस्तकका लेखक सुजीतकुमार झा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
पत्रकार झाको पुस्तक ‘खुशी’ १७ औं कृति हो । यस अघि विभिन्न विधामा उनको १६ वटा कृति प्रकाशित भई सकेको छ । कार्यक्रमको संचालन प्रशासन प्रमुख प्रदीप लालले गरेका थिए ।




