देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो



काठमाण्डाै, फागुन ४ । काठमाण्डाै उपत्यकासहित देशभर वायु प्रदूषण बढेको छ । अहिले काठमाण्डौ विश्वका धेरै प्रदूषित शहरको तेस्रो सूचीमा छ । काठमाण्डाैकाे वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १६० देखि २०० भन्दा माथिसम्म रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्म हुँदा सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई २०१ देखि ३०० सम्म हुनुलाई सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम मानिन्छ । ३०१ देखिमाथिको अवस्थालाई घातक वा आपत्कालीन अवस्था मानिन्छ ।

काठमाण्डौसँगै भरतपुर, हेटौँडा, धनगढी, पोखरालगायतका शहरमा पनि वायु प्रदूषण बढेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार काठमाण्डाै उपत्यकामा वर्षा हुन नसकेर प्रदूषण थुप्रिएर बसेको छ । उहाँका अनुसार काठमाण्डाै कचौरा आकारको शहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीँ जम्मा भएर बस्छ र दिनदिनै थप हुँदै जान्छ । त्यो निस्कन पाउँदैन ।

दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउँछ । फोक्सोमा सीधै र अरू धेरै अङ्गमा असर पुर्‍याउने डाक्टरहरू बताउँछन् । प्रदूषणले मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउँछ ।

प्रदूषण बढेको बेला सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ४, आइतवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको