राजविराज, फागुन ५ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल डाक्टर बिहीन बनेको छ । डाक्टरहरु मन्त्रालयमा काजमा खटिएका छन् भने बाँकी कुम्भ स्नान गर्न गएपछि अस्पताल डाक्टर बिहीन बनेको छ । जनकपुरधामको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन दिन रात एक गरेका मुख्यमन्त्री सिंहको आफ्नै गृह नगरमा रहेको अस्पतालको बारेमा उनी अनभिज्ञ छन् । राजविराजमा सयौं स्वास्थ्य संस्था तथा औषधी पसलहरु अवैध छन् स्थानीय भन्छन्–‘मुख्यमन्त्री जी जनकपुरधाम उप–महानगरपालिकाको मेयर बनेका छन्,जनकपुर बाहेक पनि मधेश हो भनेर सायद उहाँलाई थाहा छैन् । हरेक ठाउँमा अवैध स्वास्थ्य संस्था छ तर, उनी जनकपुरको मुख्यमन्त्री बन्नु भयो ।
गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा कार्यरत एघारौं तहकी वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा. एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा थिइन् ।
अस्पतालले उनीसहित काज र बिदामा रहेका चिकित्सकलाई फर्काइदिन पटक–पटक स्वास्थ्य मन्त्रालयमा आग्रह गर्यो । तर डाक्टरहरु फर्किएनन् । डा. घिमिरे आठमहिनापछि गत माघ २७ गते अस्पतालमा हाजिर भइन् । उनी अस्पतालमा हाजिर भएपछि बालरोग विभागमा विशेशज्ञ चिकित्सकको अभाव पुर्ति हुने अपेक्षा गरिएको थियो । तर हाजिर भएको भोलिपल्टै माघ २८ गते डा. घिमिरे एकसय ७० दिन बिदाको स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय पुगिन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साहका अनुसार अस्पतालबाट बिदाको सिफारिस लिएर डा. घिमिरे स्वीकृतिका लागि माघ २८ गते मन्त्रालय गएकी छिन् । गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता लामो समयदेखि काजमा अन्यत्र छन् । २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छन् ।
यसै अस्पतालमा बालरोग विशेशज्ञको रुपमा कार्यरत डा. मुकुन्द देव र डा. सरोजकुमार यादव फागुन ३ गतेदेखि सट्टा बिदा लिएर कुम्भ स्नान गर्न भारततर्फ लागेका छन् । डा. देव र डा. यादव बिदा लिएर कुम्भ स्नान गर्न गएपछि फागुन ३ गतेबाट गजेन्द्रनारायण अस्पतालको बालरोग विभाग विशेषज्ञ चिकित्सकविहीन छ ।
अस्पतालको बालरोग विभागमा रहेका मेडिकल अधिकृत डा। एनिलता दास र डा। गौतम मण्डलको भरमा विभाग सञ्चालित छ । अस्पतालको बालरोग विभाग मात्र होइन, यहाँ दरबन्दी भई कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरु काज मिलाउँदै लामो समयदेखि अन्यत्रैको अस्पतालमा कार्यरत छन् ।
गजेन्द्रनारायण अस्पतालमा ५० शय्याको स्वीकृति भए पनि बिरामीको चापका कारण एकसय ५० शय्या सञ्चालनमा छ । तर चिकित्सकको अभावमा सर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन सकिरहेका छैनन् । गत कात्तिक महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पतालमा अनुमगनमा आएका बेला उनले अस्पतालमा जनशक्ति पूर्ति गर्नेतर्फ मन्त्रालयले आवश्यक कार्य गर्ने आश्वासन दिएका थिए ।
विभागीय मन्त्रीको सोही आश्वासनपछि हौसिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले काजमा काम गरिरहेका एघारौ र नवौदसौं तहका ८ चिकित्सकको काज फिर्ता गरिदिन भन्दै २७ कात्तिकमा स्वास्थ्य मन्त्रालयमा पत्राचार समेत गरेका थिए । उक्त पत्रमा ठूलो संख्यामा चिकित्सकहरु काजमा भएकाले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको उल्लेख गरिएको छ ।




