जनकपुरधाम, फागुन ५ । मधेश प्रदेशको राजधानी प्रमुख शहर जनकपुरधाममा रहेका ठूला देखि साना होटलको व्यवस्थापन झुर रहेकै कारण यहाँ आउने धार्मिक तिर्थयात्रीहरु यहाँ बस्न चाहेका छैनन् । यहाँ प्राचीन मन्दिरहरू, धार्मिक स्थलहरू र सांस्कृतिक धरोहरहरू छन् जसले प्रतिवर्ष हजारौं भक्तजन र पर्यटकहरूलाई आकर्षित गर्छ । यद्यपि, यस शहरका होटल उद्योगका बारेमा धेरै गुनासोहरू छन् ।
यहाँका होटलहरूको सेवा र वातावरण अन्य शहरका तुलनामा कम हर्षजनक देखिन्छ । ग्राहकहरूको असन्तुष्टि, सेवा मापदण्डको कमी र तिक्त व्यवहार जनकपुरधामका होटलहरुको प्रमुख समस्याका रूपमा देखा परेका छन् ।
जनकपुरधामका धेरैजसो होटलहरूमा आधुनिक सुविधाहरूको अभाव छ, जबकि अन्य शहरका होटलहरूले उत्कृष्ट सेवा र उच्चस्तरीय सुविधाहरू प्रदान गरेर ग्राहकहरूको मन जित्न सफल भएका छन् । यहाँका होटलहरूले अझै ग्राहकको अपेक्षालाई पूरा गर्न नसकेको र आवश्यक सुधारका लागि रणनीतिहरूको अभाव देखिने गरेको ग्राहकहरुको भनाई छ ।
विशेषगरी जनकपुरधाममा आउने पर्यटकहरूको सबैभन्दा ठूलो गुनासो भनेको होटलका कर्मचारीहरूको व्यवहार रहेको छ । धेरैजसो पर्यटकहरूका अनुसार यहाँका होटल कर्मचारीहरूले उनीहरूसँग तिक्त र असम्मानजनक व्यवहार गर्छन् । केही होटल कर्मचारीहरू समयमै सेवा नगर्ने जस्ता समस्या उत्पन्न गर्छन् । होटलहरूमा सेवा दिने व्यक्तिहरूको अभाव र तालिमको कमी पनि एक प्रमुख कारण रहेको छ, जसले ग्राहक सन्तुष्टिमा कमी ल्याउँछ ।
’जनकपुरधामको होटल उद्योगको वर्तमान अवस्था धेरै चुनौतीपूर्ण रहेका कारण यहाँका होटलहरूले सुधारका लागि थुप्रै उपायहरूको आवश्यकता छ । जसले पर्यटकहरूको गुनासो कम गरी उनीहरूको अनुभव सकारात्मक बनाओस् । यदि यी सुधारहरूको कार्यान्वयन हुन्छ भने जनकपुरधामका होटलहरूले राम्रो स्तरको ग्राहक सन्तुष्टि प्राप्त गर्न सक्छन्, जसबाट यहाँको पर्यटन उद्योगलाई पनि फाइदा पुग्नेछ’ एक ग्राहकले गुनासो गर्दै भने ।
जनकपुरधामका होटलहरूको मूल्य तुलनात्मक रूपमा अन्य शहरहरूको भन्दा महँगो रहेको गुनासाहरु छन् । यद्यपि यहाँका होटलहरूको सेवास्तर र सुविधाहरूको मानक भने उचित छैन । पर्यटकहरूले पाएका अनुभव अनुसार उच्च मूल्यका होटलहरूमा आवश्यक सुविधाहरूको कमी र उचित व्यवस्थापनको अभाव पाइन्छ ।
‘पर्यटकहरूले उच्च मूल्यको होटलमा सेवा र सुविधामा कम गुणस्तरको अनुभव गर्दा उनीहरूको असन्तुष्टि बढ्दो छ । यहाँका होटलहरूमा बढी सेवालाई ध्यान दिइएको छैन भने धेरै होटलहरूले आफ्नो मूल्यसँग सन्दर्भित सुविधाहरूको बारेमा प्रस्ट जानकारी पनि दिने गरेका छैनन्, काठमाडौँबाट आएका एक धार्मिक पर्यटकले भने–‘बर्दिबास बस्नकोलागि भनिएको थियो तर, जनकपुरधामको दुई दिनको बसाई धेरै नै अविस्मरणीय रह्यो ।’
जनकपुरधामका होटलहरूको तुलना यदि नेपालका अन्य पहाडी भेगहरूका होटलहरूसँग गरियो भने धेरै अन्तर देखिन्छ । नजिकमै रहेको बर्दिबास, पोखरा, काठमाण्डु, ललितपुर लगायतका शहरहरूमा रहेका होटलहरूले ग्राहकसँग व्यवहारमा धेरै सुमधुरता र सौहार्द देखाउँछन् ।
यी शहरका होटल कर्मचारीहरूले ग्राहकको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर सेवा दिन्छन् । यी स्थानहरूको होटल उद्योगले ग्राहकको सन्तुष्टि र उनीहरूको अनुभवलाई प्राथमिक बनाउँदै यसको लागि तालिम र व्यवस्थापनमा विशेष ध्यान दिएको पाइन्छ ।
यी शहरहरुमा होटल कर्मचारीहरू आफैंले ग्राहकसँग मित्रवत र सहयोगी व्यवहार गर्छन् । तिनीहरूले पर्यटकहरूको अनुभवलाई एकदमै सहज र सुखमय बनाउँछन्, जसका कारण ग्राहक बारम्बार त्यहाँ फर्किन चाहन्छन् । यसमा मुख्य कारण भनेको कर्मचारीहरूको मनोविज्ञान, तालिम र पेशागत दृष्टिकोण हो । यहाँका होटलहरूमा ग्राहकको सन्तुष्टिको लागि विशेष कार्यक्रमहरू र पक्का व्यवस्थापन रणनीतिहरू लागू गरिएका छन् भारतबाट आएका एक पर्यटकले भने–‘नेपालको धेरै ठाउँमा घुमे र होटलमै बसे तर जनकपुरको होटलको व्यवस्था एकदम्मै झुर रहेको छ ।’
होटल व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधामको होटलको सम्वन्धमा हाम्रो संघमा कुरा भएको बताए । उनले जनकपुरधामको होटलमा दक्ष जनशक्तिको समस्याले समस्या हुने गरेको हुन सक्ने बताए । उनले भने–‘संघलाई क्रियाशिल बनाउने काम भई रहेको छ तर, होटल व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारी जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका कारण अलि उता बढी विजि हुनु भो आगामी सप्ताह सम्ममा यस बिषयमा गम्भीरता पूर्वक कार्य अगाडि बढाइने छ ।’
जनकपुरधामका होटलहरूमा सुधारको आवश्यकता सन्तुष्टि वृद्धिमा ध्यान केन्द्रित गर्ने समयको आवश्यकता छ ।
एक विज्ञले भने–‘जनकपुरधामका होटल होटल उद्योगमा कार्यरत कर्मचारीहरूको तालिममा सुधार ल्याउनु पर्छ । उनीहरूलाई ग्राहक सेवा सही समयमै सेवा पुर्याउने र शिष्ट व्यवहारका बारेमा प्रशिक्षण दिन आवश्यक छ । कर्मचारीको मुस्कान र स्वागतको भावना मात्र सेवा होइन ग्राहकसँगको सम्बन्धको शुरुवात हो ।’
उनले मूल्य र सेवा बीचको असन्तुलनलाई हटाउनका लागि होटलहरूले सस्तो र गुणस्तरीय सेवाको विकल्प प्रस्तुत गर्नु पर्ने बताउँदै पर्यटकलाई आफ्नो खर्चको मूल्य अनुसार उपयुक्त सेवाहरू दिनुपर्ने धारणा राखे । होटललाई सुधार गर्न विज्ञहरुले सुझाव समेत दिएका छन् ।
नयाँ प्रविधिको प्रयोग
अहिलेका समयसँगै होटल उद्योगले प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेछ । अनलाइन बुकिङ, डिजिटल चेक–इन, र स्मार्ट व्यवस्थापन प्रणालीहरूले ग्राहकको अनुभवलाई अझ सहज बनाउन सक्छ ।
होटलको वातावरण र सफाई
ग्राहकले महँगो मूल्य तिर्नु भनेको एउटा राम्रो वातावरण र सफाइको अपेक्षासँग हुन्छ । जनकपुरधामका होटलहरूले सफाई र वातावरणको बारेमा बढी ध्यान दिन आवश्यक छ ।
प्रचार र ग्राहक सन्तुष्टि
होटलहरूले ग्राहकहरूको प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै आफूलाई सुधार्ने कार्य गर्नुपर्छ । नियमित ग्राहक सन्तुष्टि सर्वेक्षणहरू र पुनरावलोकन कार्यक्रमहरूले सुधार गर्न मद्दत पुर्याउँछन् ।






