पूर्व राजा ज्ञानेन्द्रको सन्देशले राजनीतिमा तरंग



जनकपुरधाम, फागुन ८ । फागुन ७ गते , अर्थात प्रजातन्त्र दिवस । जहानीया शासन अन्त भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिन । यस दिनलाई सबैले मुलुकका लागि सुनौलो दिनको रुपमा लिदै आएको छ । प्रजातान्त्रिक मुलुकबाट गणतन्त्र सम्म आउदा समेत प्रजातन्त्र दिवसलाई उत्तिकै सम्मानका साथ सरकार र यहाँका राजनीतिक दलहरुले मनाउदै आएका छन । यस वर्ष पनि सरकारले प्रजातन्त्र दिवसको भव्य कार्यक्रम टुडिखेलमा आयोजना गरेको थियो भने राष्ट्रप्रमुख देखी सरकार प्रमुख सम्म , राजनीतिक दल समेतले शुभकामना सन्देश दिएका छन ।

प्रजातन्त्रले मुलुकमा ल्याएको परिवर्तन र यसका लागि योगदान दिएका योद्धाहरुको वृतान्त लेख्दै उनिहरुले शुभकामना सन्देश जारी गरेका छन । पूर्व राजा ज्ञानेन्द्रले समेत प्रजातन्त्र दिवसको पूर्व संध्या अर्थात फागुन ६ गते देशवासीको नाउँमा शुभकमना सन्देश जारी गरेका थिए । हुनतः गणतन्त्रको स्थापना पछि पनि पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै आएका छन । तर यस वर्षको शुभकामना सन्देश अलि फरक शैलीको देखिएको छ । मुलुक र जनताको लागि आफुले राजगद्दी त्याग गरेको र आवश्यक भए अझै धेरै त्याग गर्न सकिने उनको सन्देश छ ।
आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।

पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के(के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’

पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन । विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीभन्दा बाहेक राजतन्त्र पुनस्स्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैन ।

यसपालिको वक्तव्यमा भने उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ ।

पूर्व राजाको सन्देश पछि राजा निकट मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिकरुपमै सन्देशको स्वागत गर्दै आन्दोलनमा होमिन जनतालाई आह्वान गरेका छन । राजसंस्थाका पक्षमा शुसुप्त वकालत गर्दै आएका राप्रपाका नेताहरुका साथै पूर्वराजाको पक्षमा अभियान चलाउदैं आएकाहरु जुर्मुराउन थालेका छन । फागुन ६ गते बेलुका पूर्वराजाको सन्देश आए लगतै उनिहरुमा एउटा नयाँ उत्साह थपिएको देखिएको छ ।

उनिहरु फागुन ७ गते विहानै देखी समाजिक संजालमा पूर्व राजाको पक्षमा आफना मन्तव्य राख्न भ्याइ सकेका थिए ।

पूर्वराजाको यो अभिव्यक्तिलाई साहसिलो सम्बोधनको रूपमा लिन्छन् राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन ७ नेपालीहरूको लागि ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ ।’
राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले पनि पूर्वराजाको सम्वोधनलाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् ।
‘राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको छ,’ उनी लेख्छन्, ‘यसै क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष र्पुयाउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ ।’

राप्रपाको केन्द्रीय कार्यसमितिले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको र यसलाई निरन्तररूपमा चलाइने उनको भनाइ छ ।

राणा थप्छन्, ‘राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समुह र नेपालीले मिलेर अघि बढौं ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउनका निम्ति भएको आह्वानप्रति विनाआग्रह र पूर्वाग्रह सहयोगको हात बढाउन सबैसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरण राजा र जनताको साझा प्रयासबाट हुँदै आएको इतिहास साक्षी छ । १८ वर्षअघि षड्यन्त्रपूर्वक टुटाइएको राजा र जनताबीच एकताको धागोलाई पुनः जोडेर देश बचाउन र बनाउन आजको दिनले प्रेरणा देओस् ।’

पछिल्लो समय नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजालाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् । ‘राजा आफैंले समेत तदारुकता देखाएको बेला’ सबै जुट्नुपर्ने उनको मत छ ।

प्रसाईंले लेखेको स्टास यस्तो छः
अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो । हेर्दा सुन्दर लागेर मिठो होला भनेर टिपेको फल विषाक्त निस्किएको थाहा पाएपछि पनि खायौं भने असर गर्छ नै । त्यस्तै यो व्यवस्था पनि मिठो, पौष्टिक सोचेको तर विषाक्त फल निस्कियो । यो बिशाक्त व्यवस्था फालेर सारा नेपाली अट्ने, सिङ्गो नेपाल देखिने, राजा र बैद्दिक सनातन हिन्दू धर्मसहितको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनतालाई सेतो हात्ती बनेको प्रदेश खारेज, समानुपातिक खारेज, धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्रसहित को सुन्दर शान्त परिस्कृत नेपाल निर्माणको महाअभियानमा सबै जोडिन म सबै नेपाली नागरिक हरूलाई पुनः आव्हान गर्न चाहान्छु ‘ जय देश’ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजै फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

उनी लेख्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो( जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा र्पुयाउन अपील गर्दछौं ।’
‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ,’ उनले भनेका छन ।

राजाबादीहरु सल्वलाउदै गर्दा इतरका दलहरु रक्षात्मक अवस्थामा पुगेको छ । फागुन ७ गते दिन भरि समाजिक संजालमा राजाबादीहरु कोकोहल मचाई रहदा लोकतान्त्रिक पक्षधरहरु प्राय मौन देखिएका छन । हुन नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने राजावादीहरुको भूत सल्वलाउन थालेको प्रतिक्रिया दिएका हुन । बुधवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ‘अचेल फेरि पञ्चायतकालीन भूत सल्बलाउन थालेका छन् । ‘महासचिव पोखरेलले भने, ‘पूर्वराजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिदैछ ।’

पूर्व राजाको सन्देश पछि अन्य नेताहरुको खासै प्रतिक्रिया नआएपनि एमाले महासचिवको प्रतिक्रियाले राजनीतिक हलचल शुरु भएको संकेत गरेको छ । हुनतः पूर्वराजाको यस्तो अभिव्यक्ति पहिलो चोटी नभएपनि पछिल्लो राजनीतिक परिस्थितिका कारण बढी चर्चा हुनु स्वभाविक पनि हो ।

प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहिवार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको