जनकपुरधाम, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोर्होयाएरै नारायणहिटी र्पुयाउने उद्घोष गरेका छन् । उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन समेत आह्वान गरे ।
राप्रपाद्वारा पोखरामा आयोजित विरोधसभामा बोल्दै लिङदेनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु , तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं ।’
आफूहरूले पछाडि फर्किने कुरा नगरेको उल्लेख गर्दै लिङदेनले हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्ने तर्क दिएका छन ।
राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव उनले अघि सारेका छन् । यो विश्वमै एउटा मौलिक प्रयोग हुने उनको भनाइ छ ।
‘एउटा(एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं । अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्छ,’ लिङ्देनले भने ।
उनले थपे, ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी तपाईंहरूले राजालाई जबरजस्ती विस्थापित गर्नुभयो, हामी निर्मल निवासबाट डोर्होयाएर नारायणहिटीबाट पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यसलाई सामान्य कुरा नसम्झिनुहोला ।’




