जनकपुरधाम, फागुन ९ । महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेस पार्टी भित्र पूर्व उप–सभापति तथा मधेशका प्रभावशाली नेता विमलेन्द्र निधिले स्पेस खोज्न थालेका छन् । गत महाधिवेशनमा पार्टीको सभापतिमा उम्मेदवारी दिएका नेता निधिलाई पार्टीका बैठकहरुमा समेत बोलाउन छाडिए पछि उनी आफ्नो स्पेस खोज्न थालेका छन् ।
पार्टी सभापति शेरवहादुर देउवाका अति प्रिय मानिने नेता निधिले उनी विरुद्ध नै पार्टीको सभापतिमा उम्मेदवारी दिए पछि उनको राजनीतिक यात्राको क्रम ओरालो लाग्न थालेको छ । तर, देउवालाई मनाउन उनी पछि समर्थन गरेका थिए । कांग्रेसका जानकारहरु भन्छन्–‘निधि जीले त्यतिवेला ठूलो मिस्टेक गर्नु भयो, उहाँले देउवालाई समर्थन गर्नु भन्दा राम्रो अर्का साभपतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्नुपर्ने थियो । शेखरलाई समर्थन गरेको भए आज उहाँ संग रामसरोज यादव, रामकृष्ण यादव, चन्द्रमोहन यादव लगायतका नेताहरु साथमा हुन्थ्यो ।’
नेता निधिका प्रिय पात्र पार्टीका सह–महामन्त्री महेन्द्र यादव र मधेश प्रदेशका पूर्व सभापति रामसरोज यादव, वर्तमान सभापति कृष्णा यादव सवैले साथ छाडि सकेको अवस्था छ । नेपाली कांग्रेसका एक वरिष्ठ नेता भन्छन्–‘नेता निधि मधेश प्रदेशमा मात्रै नभई जुन जिल्लाको जिल्ला अधिवेशनमा जानु हुन्थ्यो जसलाई सभापति बनाउन चाहनु हुन्थ्यो त्यो सभापति बन्नु हुन्थ्यो तर अहिलेको अवस्था विल्कुलै फरक छ, उहाँ जसलाई सभापति बनाउन चाहनु हुन्छ त्यो चुनाव हार्छ ।’
प्रजातन्त्र दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता निधिको भाषणले फेरि नेपाली कांग्रेस भित्र तरंग ल्याएको छ । उनले गरेको सम्वोधनको क्रममा अधिकांश समय पार्टीका सभापति शेरवहादुर देउवाकै प्रसांसामा विताए । जसले नेता निधि फेरि सभापतिमा लड्ने कि नलड्ने शंका उत्पन्न गरेको छ । जानकारहरु भन्छन्–‘उहाँले फेरि कन्फ्युजनको राजनीति थाल्नु भएछ, सभापति चुनाव लड्नु हुन्छ कि लड्नु हुन्न ? लड्नु हुन्छ भने आफ्नो कुरा राख्नु थियो तर, उहाँले पार्टी सभापति देउवाकै प्रसंसामै आफ्नो समय विताउनु भयो । जसले स्पष्ट हुन्छ कि अव उहाँ सभापतिमा लड्नु हुन्न ।’
‘नेता निधि यदि सभापतिमा चुनाव लड्नु हुन्छ भने त्यसको तयारी छैन्, सभापतिमा शेरवहादुर देउवालाई समर्थन गर्यो भने उहाँ कुन पद लिनु हुन्छ किन भने उहाँ उप–सभापति भई सक्नु भएछ र अव फेरि उप–सभापति बन्नु हुन्न किन भने उहाँ सभापतिमा चुनाव लडि सक्नु भएछ यदि उप–सभापतिमै आउने भित्रि बिचार होला भने मनोनयन गर्ने प्रावधान हटिसकेको छ, त्यसमा पनि चुनाव लड्नै पर्छ’ जानकारहरु भन्छन् ।
पार्टीको महाधिवेशनमा सभापतिकालागि शेरवहादुर देउवा र शेखर कोइराला बीच निर्वाचन हुने सम्भव तः निश्चित रहेको पार्टीका नेताहरु बताउँछन् । शेरवहादुर देउवा र शेखर कोइराला बीच निर्वाचन भयो भने शेखर कोइराला खेमा बाट उप–सभापतिमा वर्तमान महामन्त्री गगन थापा उम्मेदवार हुनेछ र गगन थापालाई हराउने अवस्थामा नेता निधि नरहेको कांग्रेसका नेताहरु बताउँछन् ।
पार्टीको महाधिवेशन र मिसन २०८४ को तयारीमा रहेको नेपाली कांग्रेसमा नेता निधि मधेशकालागि ठूलो अनुहार रहे पनि उनको ओरालो लाग्दै गएको राजनीतिक यात्राले आगामी निर्वाचनमा उनी आफ्नो क्षेत्रबाट चुनाव लड्ने कि नलड्ने त्यसमा पनि शंका उत्पन्न हुन थालेको छ । गत निर्वाचनमा उनले आफ्नो स्थानमा अन्यलाई टिकेट दिएर चुनावी मैदानमा ल्याएर आपूm समानुपातिकबाट संघीय सांसद बनेका छन् । स्थानीय स्तरमा पार्टीका खाटी कार्यकर्ताहरु अन्य पार्टी रोज्न थालेका छन् भने निधिका प्रिय पात्रहरु समेत आफ्नो खेमा परिवर्तन गरिसकेको अवस्था छ । कार्यकर्ताको असन्तुष्टि सम्वोधन गर्नुको सट्टा कार्यकर्तालाई धाकधम्की दिने र उनीहरुको कुरा नसुन्ने जस्ता लगायतका स्थानीय नेता कार्यकर्ताको गुनासो नेता निधि संग छ ।






