मधेशका गृहमन्त्री लेखीले भने–‘रिंकुका हत्यारा छिट्टै खोरमा हुन्छ’



जनकपुरधाम, फागुन ९ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदायका हत्याराहरु छिट्टै खेरमा हुने दावी गरेका छन् । उनले मधेश प्रदेशमा शान्ति सुरक्षा स्थापना गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने टिप्पणी गरेका छन् ।

मन्त्री लेखीले आज बिहान पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र छिट्टै पक्राउ पर्ने बताए । उनले घटना शंकास्पद देखिएकै कारण धरानमा पोस्टमार्टम गराएको र छिट्टै रिपोर्ट आउने पनि जानकारी दिए ।

‘स्थानीय राजनीतिकर्मीले नै पञ्चायतमार्फत घटना दबाउन, लुकाउन र रकम बार्गेनिङ गर्दा यो घटनामा अन्योलता बढेको थियो, ‘उनले भने,– ‘जहाँ पनि घटना हुँदा पहिले जानकारी पाउने स्थानीय हो । स्थानीय राजनीतिकर्मी हो ‌। समयमै प्रहरीलाई खबर गरिदिँदा अन्योलता आउँदैन । तर स्थानीय राजनीतिकर्मी नै घटना लुकाउने भूमिका खेल्नु दुःखद हो ।’

घटनाको सहज ढंगले अनुसन्धान अगाडी बढिरहेको भन्दै मन्त्री लेखीले घटनामा संलग्नहरू र रकमको बार्गेनिङ गर्नेहरू विरुद्ध पीडित परिवारले पूरक जाहेरी दिएको बताए । उनले पूरक जाहेरीले अब प्रहरीलाई अनुसन्धान तथा कारबाही गर्न सजिलो भएको सुनाए ।

मृतककी आमा सीतादेवीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी दिएकी छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको