सुधार केन्द्रमा युवकको मृत्यु, छानबिनको माग



ढल्केबर, फागुन ९ । जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुधार केन्द्रका व्यवस्थापक सञ्जिव शर्माका अनुसार यादवको घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान समर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सामान्य अवस्था रहेको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ अचानक अवस्था बिग्रिएपछि उनलाई प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेपछि चिकित्सकले यादवलाई मृत घोषित गरेको उनले बताए ।

तर प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख शरद यादवले अस्पताल ल्याउनुअघि नै यादवको मृत्यु भइसकेको जानकारी दिए। यादव पछिल्लो दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए। उनी लागूपदार्थ दुर्व्यसनमा संलग्न थिए ।

मृतक यादवका आफन्तले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएका कारण मृत्यु भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताए । उनका अनुसार यादवको पोस्टमार्टम भइसकेको छ भने रिपोर्ट आउन बाँकी छ ।

मृतक यादव परिवारका एक्ला छोरा थिए । उनका पिता वैदेशिक रोजगारीमा छन् । पीडित परिवार तथा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा सडक अवरुद्ध गरेर नाराबाजी गरेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार २०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको