मनोज माझी
राजविराज, फागुन १० । भारतको उत्तरप्रदेश स्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात अयोध्या स्थित राममन्दिर दर्शन गर्न परिवार सहित पुगेकी सप्तरीकी एक युवती एक सातादेखि वेपत्ता छिन ।
सप्तरीको राजविराज नगरपालिका ७ हटिया बजार निवासी २० बर्षिया रोशनी कुमारी साह यसरी वेपत्ता भएकी हुन । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफनै भतिजी हुन । आमा फुलकुमारी, बुवा बिरेन्द्र र दाजु विकास सँगै फागुन ३ गते शनिबार (१५ फरवरी) का दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नं. गेटमा अचानक उर्लिएको भिडभाडमा उनी सम्पर्क विहिन भएको परिवारजनको भनाई छ ।
‘बिहान ८ः३० बजेको समय थियो, मन्दिरमा निकै भिडभाड थियो, फर्किने क्रममा ३ नं. गेट नजिकै चप्पल जुत्ता राखेको ठाउँमा पुग्दा छोरी रोशनी अचानक सम्पर्कविहिन भईन, बुवा बिरेन्द्रले भने– तत्कालै भारतीय प्रहरीको खोयापाया केन्द्र (हराएका व्यक्तिबारे सूचना दिने केन्द्र) मा पुगी जानकारी गराए, तर एक सात्ता वितिसक्दा पनि कुनै पत्तो लाग्न सकेको छ्रैन ।
‘बुवा बिरेन्द्र , आमा फुलकुमारी र दाजु विकास भारतीय नागरिक कुनौली निवासी समाजसेवी रंजित कुमार सिंहको सहयोगमा अहिले पनि भारतको अयोध्यामै बसेर रोशनीको खोजतलासमा जुटेका छन् । तर कतैबाट कुनै सुराक फेला पर्न सकेको छैन । परिवारजनले अयोध्या स्थित भारतीय प्रहरीका एसएचओ अभिमन्यु सुकला, सिओ अरुण श्रीवास्तव र सिएएसइआईओ आषुतोस तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोज तलासमा सहयोग गर्न आग्रह गर्दै आएका छन् ।
तर अहिले सम्म कुनै सफलता मिल्न सकेको छै्रन । भारतीय प्रहरीले मन्दिर परिसर तथा आसपासका सिसिटिभि क्याम्राका फुटेज पनि नियालेका छन् । जसमा उक्त दिन कालो सुरुवाल, गुलाबी कुर्ता र सेतो स्वेटेर लगाएकी रोशनी कालो ब्याग झुण्डयाएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबन कुण्ड तर्फ बढीरहेको र सेतो टिसर्ट लगाएका तिन जना युवक एक आपसमा केही इसारा गर्दै उनलाई पच्छाइरहेको स्पष्ट देखिन्छ ।
कुण्डको गेट भित्र प्रवेश गरेपछि भने सिसिटिभि क्याम्रा जडान नभएका कारण त्यसपछिको अवस्था पत्ता लगाउन कठिन भएको भारतीय प्रहरी अधिकारीहरुको भनाई छ । यद्यपी खोज तलासको क्रम अहिले पनि जारी रहेको भारतीय प्रहरीलाई उदत गर्दै रोशनीका परिवारजनले जनाएका छन । तर भारतीय प्रहरीले भने झै सक्रियता नदेखाएको र आफुहरु बहिनीको खोजमा भौतारीनु परेको दाजु विकासको भनाई छ ।
सिसिटिभि फुटेजमा बहिनीलाई पच्छाई रहेका तिन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत व्यक्त गर्दै उनले बहिनीको अवस्था पत्ता लगाई सकुसल उद्घारमा सहयोग गर्न सबै सँग आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तिर्थयात्राका लागी भारतको अयोध्या पुगेकी राजविराजकी एक युवती परिवारजनसँग सम्पर्कविहिन भएको कुरा सुनिएको भन्दै सो बारे उनका परिवारजनले लिखित रुपमा जानकारी गराएपछि खोजतलासका लागी आफुहरुले पनि भारतीय उच्च प्रहरी अधिकारीहरु सँग समन्वय गरी आवश्यक पहल गर्ने बताए ।
यहाँबाट अहिले दैनिक सयौंको संख्यामा तिर्थयात्रुहरु कुम्भस्नानका लागी भारतको प्रयागराज तथा अयोध्या स्थित राममन्दिर दर्शनका लागी पुग्ने गरेका छन् । अत्यधिक भिडभाड तथा बेलाबेलामा मच्चिने भागदौडका कारण धेरै तिर्थयात्रीहरु अझै पनि हराईरहेको र परिवारजन खोजी कार्यमा भौतारीरहेको बुझिएको छ ।




