राजविराज, फागुन १० । वर्षौं देखी जीर्ण सडकका कारण आवत जाबतमा समस्या भोगिरहेका सप्तरीको रुपनी गाउँपालिका लक्ष्मीपुर, लवका टोल, नरहिया, लोवापुर र पिपराही लगायतका बासिन्दाहरुको अब दुःखका दिन हटेने भएको छ ।
शहरी बिकाश मन्त्रालय अन्तर्गत स्थानीय पुर्वाधार बिकास आयोजनाको ४९ लाख ६७ हजार २ सय १२ रुपैयाँको लगानीमा लक्ष्मीपुर पम्पनहर देखी लवका टोल कटैया, नरहिया हुदै लोवापुर पिपराही सम्मको सडक स्तरोन्नती कार्य शुरु हुने भएपछी उक्त क्षेत्रका जनताहरु वर्षौं देखीको समस्या समाधान हुन् लागेको हो ।
उक्त सडक स्तरोन्नती निर्माण कार्यको शनिबार एक कार्यक्रम बीच प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ निर्माण हुने सडकले यस क्षेत्रका मात्र नभई पुरै रुपनीबासीलाई फाइदा पुग्ने बताए । बिकासका बिभिन्न मेरुदण्ड मध्ये सडक पनि एक भएको भन्दै उनले यस क्षेत्रमा आर्थिक चहलपहल बढाउन र जनताको आवतजावतलाई सहज बनाउन जीर्ण रहेका बिभिन्न सडक खण्डको मरम्मत सम्भार र स्तरोन्नती कार्यमा समेत आफुले सक्दो पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले यो सडक निर्माण भए यहाका जनताको वर्षौं देखीको सपना साकार हुनुका साथै यहाँको बिकासले पनि गति लिने भन्दै समयमै सडक बनाई सक्ने गरी सबैले मिलेर सहयोग गर्नु पर्नेमा जोड दिए । उक्त निर्माण कार्य २०८२ जेठ १५ गते भित्र सम्पन्न गर्ने गरी शाह कन्स्ट्रकशन सिराहाले सम्झौता गरी ठेक्का पाएको रुपनी गाउँपालिका प्रमुख, प्रशासकिय अधिकृत उमेश कुमार यादवले जानकारी दिए । वडाध्यक्ष छेदी इसरको अध्यक्षतामा आयोजित शिलान्यास समारोहका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, समाज सेवी राज कुमार यादव लगायतको पनि उपस्थती रहेको थियो ।






