सरकारले गरेको काम जनताविच पुर्‍याउन निर्देशन



जनकपुरधाम, फागुन १० । नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले एमाले नेतृत्वको सरकारले गरेको कामलाई जनताविचमा पुर्‍याउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले जिल्ला संगठन कमिटी धनुषाले शनिबार जनकपुरधाममा आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका छन्। उनले वर्तमान सरकार सफलतातर्फ अग्रसर भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विभिन्न प्रकारका गलत प्रचारवाजीहरु भइरहेको भन्दै त्यस्तो गलत प्रचारवाजीविरुद्ध जनतालाई सत्यतथ्य जानकारी गराउन आग्रह गरे ।

उनले जनताकै मतको आधारमा एमाले देशको पहिलो पार्टी बनेकाले संगठन निर्माणको क्रममा जनताको सेवक भएर जनताविचमा जान नेता कार्यकर्तालाई आग्रह गर्दै जनताकै वलमा एमाले सरकारको नेतृत्व गरिरहेको बताए । सचिव महासेठले सरकारले ल्याएको अध्यादेश जनताको हितमा रहेको बताए ।

कार्यक्रममा नेकपा (एमाले) का संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले श्रमजिवी वर्गको सत्तामा नेतृत्वको लागि एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरे ।

एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेको मिसन २०८४ सालको निर्वाचनलाई केन्द्रीत गरी बहुमत ल्याउनका लागि अहिलेदेखि संगठनको विभिन्न तहका नेता कार्यकर्ताले इमान्दारितापूर्वक लाग्नुपर्ने बताए ।

नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, एमालेका केन्द्रिय सदस्य हरिनारायण महतोसहितका नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको