जनकपुरधाम, फागुन १० । नेपाली काँग्रेसको १५ औ महाधिवेशन नजिकीदै गर्दा देउवा समूह अर्थात संस्थापनपक्षमा सर्वस्वीकार्य नेताको आभाव देखिन थालिएको छ । अगामी महाधिवेशनमा सभापति शेरवहादुर देउवा पुनः सभापतिमा उठन् नसक्ने पछि संस्थापन पक्षका नेताहरु खेमा परिवर्तन गर्न लागेका हुन ।
१४ औ महाधिवेशनबाट झण्डै ८२ प्रतिशत शक्ति प्राप्त गरेको देउवाले पुनः उम्मेदवारी दिन नपाउने भएपछि आफनै समूहलाई एक ढिक्का राख्न चाँसो नदिएको गुनासो समूह परिवर्तन गर्ने नेताहरुले गर्न थालेका छन ।
नयाँ सभापतिको उम्मेदवारको लागि देउवाले आफनो उत्तराधिकारीको घोषणा अहिले सम्म गर्न नसकेका कारण समूह परिवर्तनको श्रृङखलाले तीब्रता पाएको खेमा परिवर्तनको तरखरमा रहेका संस्थापन पक्षका एक नेताले बताएका छन ।
संस्थापन समूहलाई एकतावद्ध राख्न स्वयं देउवाकै रुचि नभएपछि नेताहरु तितरवितर हुन थालेका छन् । सभापति पदमा नयाँ व्यक्ति पुग्ने हुँदा नेताहरु महाधिवेशनलाई ध्यानमा राखेर समूह परिवर्तन गर्ने तरखरमा देखिन्छन् । कांग्रेस नेताहरुका अनुसार राजनीतिक भविष्य सुरक्षित हुने गरी समूह परिवर्तन गर्न नेताहरु लागेका छन् ।
देउवापछि संस्थापन पक्षका लागि ‘सर्व स्वीकार्य’ अर्को व्यक्ति नहुँदा नेताहरुले राजनीतिक जीवन सुरक्षित हुनेगरी समूह परिवर्तन गर्न लागेको चर्चा कांग्रेसमा छ । उक्त समूहमा रहेका शीर्ष नेताहरुमा एकले अर्कोप्रति विश्वास नगर्दा संस्थापन पक्षबाट सभापतिका आकांक्षी नै करिब आधा दर्जन देखिएका छन् ।
संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिका दाबेदार हुन् । १४औं महाधिवेशनमा देउवालाई साथ दिएका पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि संस्थापन समूहबाट सभापति पदमा आकांक्षी छन् । गत महाधिवेशनमा कुनै समूहमा नखुलेका पूर्वमहामन्त्री डा. शशांक कोइराला समेत सभापतिका आकांक्षी हुन् ।
संस्थापन पक्षले आफनो समूहलाई एक ढिक्का राख्न विमलेन्द्र निधी, डा. सशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलालाई जिम्मेवारी दिएपनि उनिहरु आफै सभापतिको उम्मेदवारीमा दावी गरेपछि संस्थापन पक्षमा थप तिक्कता उत्पन्न भएको एक नेताले बताएका छन ।
नेपाली काँग्रेस मधेश प्रदेशका प्रभावशाली नेता रामसरोज यादव देउवा समूह परित्यागगरि कोइराला समूहमा खुले लगतै संस्थापन पक्षमा गुट परिवर्तन गर्ने नेताहरुको लर्को नै लागेको छ ।
महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र भीष्म आङ्देम्बेदेखि संस्थापन पक्षका नेताहरु बालकृष्ण खाँण, एनपी साउद, मोहनबहादुर बस्नेत, प्रकाशशरण महत, डिला संग्रौला लगायतले समूह परिवर्तनको तयारी गरेका छन् ।
बुढानीलकण्डको बैठकमा पुगेका एक नेता भन्छन्, ‘देउवापछि समूहको मूल नेतृत्वमा संकट छ । एकले अर्कोलाई विश्वास गर्दैनन् ।’ कांग्रेस स्रोतका अनुसार सभापतिको दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शंशाक कोइरालाले बहाल रहेका उपसभापति पूर्णबहादुर खड्कासँग आगामी महाधिवेशनलाई लिएर सहकार्यको संवाद गरेका छैनन् । एउटै समूहमा रहेका खड्का र प्रवक्ता डा. प्रकाशशरण महतको सम्बन्ध समेत सहज नभएको कांग्रेस नेताहरु बताउँछन् ।
समूह भित्रै नेताहरुको मन विभाजित हुने संकेतले तेस्रो तहका नेताहरु समीकरण परिवर्तन गर्ने सोचमा पुगेका छन् । समूह परिवर्तन गर्नेहरुको चर्चामा पदाधिकारीहरुको नाम समेत छ । महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’ र भीष्म आङ्देम्बेले संस्थापन पक्ष छोडेर नेता डा. शेखर कोइरालातिर झुकाव राखेको दाबी गर्नेहरु छन् ।
साथै, बालकृष्ण खाँण, एनपी साउद, मोहनबहादुर बस्नेत, प्रकाशशरण महत, डिला संग्रौला लगायतको नाम पनि समूह परिवर्तन गर्नेहरुको सूचीमा परेको छ ।
कोइराला निकट नेता देवराज चालिसे बजारमा आएका चर्चा स्वभाविक भएको बताउँछन् । उनी भन्छन्, ‘सत्य हुनुभन्दा अघि त हल्लै चल्ने हो नि । आगो नबाली धुँवा देखिँदैन । बाहिरका हल्लालाई असत्य भन्ने आधार छैन ।’ राजनीतिक भविष्य सुरक्षित राख्ने अभिलाषाले पार्टीका नेताहरु यताउता हुनुलाई चालिसे प्राकृतिक ठान्छन् ।
समूह परिवर्तन गर्नका लागि उनीहरुको व्यक्तिगत स्वार्थले काम गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले सुनाए । उनले भने, ‘सभापति देउवाको आडमा लाभ लिन सकिने अवस्थासम्म उनीहरु सँगै रहे । अब उनको पछि लागेर हुन्न भनेर पनि होला ।’
कोइराला समूहमा देउवा पक्षबाट नेताहरु भित्रिएको संस्थापनइतरका नेताहरु दाबी गर्छन् । कोइराला सहभागी कार्यक्रममा अतिथिका रुपमा पूर्व परराष्ट्र मन्त्री साउदको सहभागिता बढ्न थालेको छ । ६ फागुनमा कोइरालालाई प्रमुख अतिथि रहेको कार्यक्रममा साउद सहभागी भएका थिए ।
नेपाल प्रेस युनियनले शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन राखेको थियो । त्यसको केही दिनअघि भक्तपुरमा राखिएको विचार गोष्ठीमा कोइरालासँगै साउद उपस्थित भएका थिए । ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा साउद सहभागी थिए । कोइरालासँग नजिकिएको विषयमा प्रश्न गर्दा साउदले हो वा होइन, कुनै प्रतिक्रिया दिएनन् । उनले भने, ‘यो बारेमा अहिले केही बोल्दिनँ । पछि विस्तृत कुरा गरौंला ।’




