जनकपुरधाम, फागुन १२ । मधेश केन्द्रित आठ दलिय मोर्चा ताप्लेजुङको पाथिभारमा जारी नो केबलकार आन्दोलनको पक्षमा समर्थन जनाएको छ ।
आइतवार राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शंखम्ुलमा बसेको आठ दलिय मोर्चाको बैठकले नो केबलकार पक्षधरद्वारा जारी आन्दोलनको क्रममा प्रहरीद्वारा भएको अत्यधिक दमन, अनावश्यक धरपकड र झुठा मुद्दा लगाउने कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले घटनाको भत्र्सना गर्दै पक्राउ गरिएका आन्दोलनकारीहरुको विनाशर्त रिहाई गर्न मांग गरेको बैठकमा सहभागी राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जनाएको छ ।
आठ दलिय मोर्चाले सरकारलाई तत्काल वार्ता र सम्बादको माध्यमले समस्याको समाधान खोज्न समेत मांग गरेको छ ।
पाथी मन्दिर पुग्न बनाउन लागिएको केबलकार ले त्यहाँको संस्कृति र धार्मिक आस्थामाथि अघात पुगेको भन्दै पहिचान पक्षहरुले लामो समय देखी आन्दोलन गर्दै आएको छ ।
संस्कृति संरक्षणको मांग गर्दै नो केवलकार समूहले जारी राखेको आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच पटक पटक झडप भएपछि स्थानीय प्रशासनले आइतवार देखी सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीले आन्दोलनलाई निरन्तरता दिदै आएको छ ।




