स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव



वीरगञ्ज, फागुन १२ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने उल्लेख गर्दै यसलाई पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको औल्याएका छन् ।

उपराष्ट्रपति यादवले मधेश प्रदेशको बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले सोमबार स्वर्ण महोत्सव अवसरमा अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उक्त विषय औल्याएका छन् ।

‘‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ’ उहाँले भन्नुभयो, ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगञ्जको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।’

उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताए । ‘ अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छु ’ उनले भने–‘अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गर्नु सकारात्मक छ । ’

उपराष्ट्रपति यादवले अस्पतालले विभिन्न आँखा सम्बन्धी स्वास्थ्य सेवाहरू र आधुनिक प्रविधियुक्त प्रयोगशालाहरू मार्फत उत्कृष्ट उपचार प्रदान गरेको उल्लेख गर्दै अस्पताललाई भविष्यमा पनि उत्कृष्ट सेवा मार्फत् मुलुककै नमुना आँखा उपचार केन्द्रको रूपमा विकसित गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमबार १९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको