मिथिला बिहारी महाआरती र माध्यमकी परिक्रममा धुमधामका साथ मनाइने



जनकपुरधाम, फागुन १४ । मिथिलाञ्चलसहित धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग मनाइँदै छ ।

यही फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश दासले बताउनुभयो ।

“यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्तहरूले नेपाल र भारतका पवित्र धार्मिकस्थलमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्तिका लागि कामना गर्दछन्”, उहाँले भन्नुभयो ।

मिथिलाको ऐतिहासिक परम्पराअनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट सुरु हुने मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार त्यसपछि विभिन्न धार्मिकस्थल हुँदै भारतको कल्याणेश्वरसम्म पुग्नेछन् ।

यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति रहेकोे संस्केतिका जानकार पण्डित काशिकान्त झाले बताउनुभयो । धार्मिकस्थलको परिक्रमा गर्दा भक्तजनले झाँकी, भजन र कीर्तनसहित अन्य धार्मिक गतिविधि गरी सबै सहभागी हुन्छन् । उहाँका अनुसार यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक सुरुवात हुनेछ ।

कञ्चनवनमा भक्तजनले एकआपसमा होली खेल्ने परम्परा रहेको झाले उल्लेख गर्नुभयो । “यस महोत्सवको प्रमुख आकर्षक मिथिला बिहारी महाआरतीलाई लिइन्छ”, उहाँले भन्नुभयो ।

महाआरती फागुन १४ गते साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने हुँदैछ । आरतीमा हजारौँ श्रद्धालु भक्तजन उपस्थिति रहने औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादवले जानकारी दिनुभयो । महाआरतीका अवसरमा समग्र मिथिलाञ्चल क्षेत्रभर विशेष धार्मिक उत्सवको वातावरण सिर्जना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस महाआरतीले श्रद्धालुहरूको आध्यात्मिक उन्नति, विश्वासको संरक्षण र परम्पराको निरन्तरता हुनुका साथै यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर प्राप्त हुने विश्वास लिइएको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।

कलश यात्रा भने फागुन १४ गते बिहान ८ बजे आरम्भ हुनेछ भने महाआरती सोही दिनको साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ । डोला प्रस्थान फागुन १५ गते बिहान ८ बजे मिथिला बिहारी–८ कचुरी मठबाट गरिने नगरप्रमुख यादवले बताउनुभयो ।

धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजन एकसाथ आउने भएकाले धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने जनविश्वास रहेको राजर्षी विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले बताउनुभयो । उहाँका अनुसार महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेको छ ।

मिथिला बिहारी महाआरती संरक्षण समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधुसन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रूपमा सुरुवात हुने परम्परा रहेकोे जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

“श्रद्धालु भक्तजनले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दूरी परिक्रमा गर्ने परम्परा छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन्”, महन्त वैष्णवले भन्नुभयो ।

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुँदै सात दिनमा परिक्रमा गहा नगरपालिकको कञ्चनवन पुग्नेछ उहाँले बताउनुभयो ।

यसैक्रममा कञ्चनवन अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीले एकआपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनःकल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।

फागु पूर्णिमाका दिन परिक्रमावासीहरू जनकपुरको परिक्रमा अर्थात् अन्तगृही परिक्रमा पूरा गरेर घर फर्कने गर्छन् । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारतसहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको