राजविराज, फागुन २० । राजविराज–कंचनपुर सडक खण्डमा भईरहेको हुलाकी सडक विस्तारको कार्य हाललाई रोकिने भएको छ ।
साविक सडकको केन्द्र विन्दुबाट दुवै तर्फ समानुपातिक रुपमा बराबरी पर्ने गरी सडक निर्माण नभईरहेको भन्दै एक पक्ष न्यायका लागि अदालत पुगेका थिए ।
स्थानिय नुरजहाँ बेगमले राजविराज नगरपालिकालाई विपक्षी बनाई उच्च अदालत जनकपुर राजविराज इजलासमा दायर गरेको निषेधाज्ञा मुद्दामा मंगलबार सुनुवाई पश्चात न्यायधीश शुशिल कोइरालाको एकल इजलासले अन्तिरिम आदेश जारी गरेपछि सडक निर्माण तथा विस्तार कार्य रोकिने भएको हो ।
”निवेदकले अन्तिरिम आदेश माग गरेको सम्बन्धमा भएको बहस र विचार गर्दा सर्वे नापी नक्सामा भएको सडकलाई आधार मानि सडकको केन्द्र विन्दुबाट दुवै तर्फ समानुपातिक रुपमा बराबरी पर्ने बाहेक निवेदकको हकभोग र स्वामित्वको जग्गा तर्फबाट मात्र हस्तक्षेत्र गरेर सडक निर्माण कार्य नगर्नु गराउनु” जारी आदेशमा उल्लेख छ ।
उक्त विषयमा कुनै आधार र प्रमाण भए बाटाका म्याद बाहेक १५ दिन भित्र उच्च सरकारी वकिल कार्यालय राजविराज मार्फत लिखित जवाफ पेश गर्नु भनि समेत विपक्षी राजविराज नगरपालिकाको नाममा अदालतद्वारा जारी आदेशमा उल्लेख छ ।






