घनश्याम मिश्र
जनकपुरधाम, चैत १७ । जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा होलीका दिन हत्या भएको आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोधमा उत्रेका स्थानीय र प्रहरी बीच झडप हुँदा दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार गरिएको छ भने दर्जनौ स्थानीय र प्रहरी घाइते भएका छन् ।
आज विहान स्थानीयहरुले जनकपुरधाम–जलेश्वर सडक अवरुद्ध गरेर विरोध प्रदर्शनमा उत्रेका थिए । प्रहरीले सडक खोलाउने क्रममा बल प्रयोग गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । झड़पको क्रममा एक दर्जन बढ़ी स्थानीय र केही प्रहरी घाइते भएका छन् । प्रहरीले पीडि़त परिवार र स्थानीयलाई लाठीचार्ज गरेपछि आन्दोलनकारी उग्ररुप लिएको थियो ।
लट्ठि प्रहारबाट एक महिलाको टाउको फुटेको छ । घटनास्थलमा गाउलेहरु आक्रम भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै ब्याक भएका थिए । झडपको क्रममा दुइ महिला प्रहरी घटनास्थलमा फसेपछि संचारकर्मीको सहयोगमा प्रहरीको जिम्मा लगाइएको छ । अवस्था अझै तनावपूर्ण रहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
आज भन्दा १५ दिन अगाडि होलीकै दिन, संध्याप्रहर जनकपुरधाम २३ बिन्धीमा १७ वर्षीय अंशु यादवको छुरा प्रहार गरी हत्या गरिएको थियो । हत्यमा संलग्न भनिएको एक युवक पक्राउ परे तर अन्य ६ जना अझै फरार छन् । प्रहरीमा किटानी जाहिरी परेको र हत्यामा संलग्न भनिएको अन्य व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै आज बिहानै देखि सड़क अबरुद्ध गरेर स्थानीय बिन्धीबासी आन्दोलित भएका छन् ।
आरोपितहरुलाई प्रहरीले जानी जानी पक्राउ नगरेको स्थानीयको आक्रोश छ । हत्यमा संलग्नहरुलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने माग सहित पीडित परिवार र स्थानीय चक्काजाम गर्दै टायर बालेर प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गर्दै छन् ।
मृतक अंशुको आमा छोराको न्यायको लागि ई–रिक्शामा मृतक छोराको पोस्टर टासेर दुइ छोरी सहित सड़कमा बसेको दृश्य कारुणिक छ । छरछिमेकका महिला–पुरूषहरु पनि साथमा छन, सबैको एउटै मांग हत्यामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।
हत्यामा संलग्न भनिएकाहरु गाउ मैं खुलेआम घुमेको देखिएको स्थानीयको आरोप छ । प्रहरीले पक्राउ किन नगरेको स्थानीयको आरोप छ । गाउकै युवकहरु द्वारा छुरा प्रहार गरेर हत्या गरेका एकजना धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ तर जाहिरी परेको अन्य युवकहरु भने फरार रहेको धनुषा प्रहरीले जनाएका छन् । धनुषा प्रहरीका अनुसार हामी खोजी गर्दै छौ तर सबै फरार छन् ।
जनकपुरधाम–भिट्ठामोड़ सड़क अबरुद्ध गरेका गाउलेहरुले अति आबश्यक एम्बुलेन्स र दूधका गाड़ीहरुलाई सहजै बाटो खोलेर जान दिएका थिए । अन्य सवारीहरु पूर्ण रुपमा रोकिएको थियो । धनुषाबाट महोत्तरी जाने आउनेहरुलाई बैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो ।
स्थानीयहरुले पीडि़त परिवारको अब हेरचाह गर्ने अन्य पुरुष घरमा नभएको र एक मात्र छोराको न्यायको लागि आफूहरु साथ दिएको बताएका छन् ।






