काठमाडौँ, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका सबै निकायमा समानुपातिक समावेशी संविधान बन्नु सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो बताउनुभएको हो । वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थविरुद्ध बृहत् शान्ति सम्झौतापश्चात् २०६३ साल जेठ २१ गते पुनःस्थापित संसद्बाट देशलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको बताउनुभएको छ ।
संविधानमा छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरेकोे उल्लेख गर्दै अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ, “दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक छन् ।”






