
एजेन्सी
मोतिहारी, असोज ७ । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीे सेप्टेम्बर २६ मा पहिलोपटक बिहारको मोतिहारीमा ठूलो जनसभा गर्ने भएकी छिन । गान्धी मैदानमा हुने उक्त सभामा उनले पार्टी कार्यकर्ता र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनाव नजिकिँदै गर्दा प्रियंका गान्धीको यो दौरा कांग्रेसका लागि रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको छ ।
राज्यसभा सांसद डा. अखिलेश सिंहले पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएका छन्। उनका अनुसार प्रियंका गान्धीको सभालाई लिएर कांग्रेस कार्यकर्तामाझ ठूलो उत्साह छ र तयारी तीव्र गतिमा भइरहेको छ । उनको आगमनले संगठनमा नयाँ ऊर्जा भर्ने र कार्यकर्तालाई चुनावी मोडमा ल्याउने अपेक्षा गरिएको छ।



मोतिहारीमा हुने यस सभाको प्रभाव बेतिया, बगहा हुँदै गोपालगञ्जसम्म फैलिने अनुमान गरिएको छ । स्थानीय नेताहरूको भनाइमा प्रियंका गान्धीको प्रत्यक्ष संवादले कार्यकर्तामा बलियो सन्देश जानेछ र कांग्रेसलाई नयाँ ऊर्जा प्राप्त हुनेछ।
बिहार विधानसभाको चुनाव नजिकिँदै गर्दा कांग्रेसले आफ्नो संगठनलाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको छ। राहुल गान्धीको यात्रापछि अब प्रियंका गान्धीको सभा पनि पार्टीका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। विशेषगरी उत्तर बिहारका सीमावर्ती जिल्लामा कांग्रेसले जनताको आकर्षण बढाउने लक्ष्य लिएको छ।

गान्धी परिवारका सदस्यका रूपमा प्रियंका गान्धीको बिहार आगमन सधैं विशेष हुने गरेको छ। लामो समयपछि उनी प्रत्यक्ष रूपमा जनतालाई सम्बोधन गर्न लागेकी हुन्। कांग्रेस कार्यकर्तासँगै आम नागरिकमाझ पनि उनको सभाप्रति चासो र उत्सुकता उच्च देखिएको छ।