
काठमाडौं , असोज २१ । वरिष्ठ प्रहरी अधिकारीहरुले जेनजीको सडक प्रदर्शनका दौरान घुसपैठ भएर अप्रिय घटना हुनसक्ने भन्दै प्रदर्शन रोक्न गृहमन्त्रीले नै अग्रसरता लिनुपर्ने सुझाव दिएका छन् ।
जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।



भेटमा प्रहरी अधिकारीहरुले अहिलेको तरल अवस्थामा सडक प्रदर्शन हुँदा कस्ता जोखिम हुन्छन् भनेर ब्रिफिङ गरेका थिए ।
‘प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेबर अपराधी पनि बाहिरै छन्,’ प्रहरी अधिकारीहरुको भनाइ उदृद्ध गर्दै छलफलमा सहभागी गृहका एक अधिकारीले भने, ‘तिनै बर्दी लगाएर, प्रहरीका हतियार बोकेर प्रदर्शनमा छिरेर गोली चलाए भने सक्कलीले चलाएको हो किन क्कलीले भनेर छुट्टाउन सक्ने अवस्था छैन, त्यसैले कम्तीमा सडक प्रदशन नगर्न मन्त्रीज्यूले नै जेनजीलाई आग्रह गरिदिनुपर्ने भयो ।’

गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरुविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोशलाई मथ्थर पार्न नसकिने र आफूले भन्दैमा जेनजीले प्रदर्शन रोकिन नसक्ने बताएका थिए ।
तर प्रहरी अधिकारीहरुले विधि र प्रकृयाअनुसार जाहेरी प्रकृया हुनुपर्ने भन्दै त्यस्तो विधि गृहमन्त्रीले बनाइदिनुपर्ने बताएका थिए । साथै उनीहरुले गृह मन्त्रालयले सूचना निकालेरै शान्ति सुरक्षा कायम गर्ने प्रयोजनकालागि प्रदर्शन नगर्न आग्रह गर्नुपर्ने माग गरेका थिए ।
लुटिएका हतियार र बर्दी फिर्ता गराउने रणनीति के हुन्छ भन्ने विषयमा पनि प्रहरी अधिकारीहरुको चासो थियो ।
‘मन्त्रालयको आग्रह अनुसार हामीले चाडबाडसम्मका लागि हतियार फिर्ता गर्ने समय थप्यौं तर एउटा पनि हतियार फिर्ता हुन सकेन, वास्तविक जेनजीले लगेको भए यी हतियार आइसक्ने थिए,’ प्रहरी अधिकारीहरुको भनाइ थियो, ‘ती हतियार हाम्रै लागि चुनौती बन्ने अबस्था भयो, अब फिर्ता नगर्नेमाथि कारबाही गर्ने गरी मुभ गरौं ।’
छलफलमा सहभागी गृहमन्त्रीले लुटिएका हतियार सुरक्षाका लागि चुनौती बनेको स्वीकारे पनि कडाइ गर्नेबारे ठोस निर्देशन भने नदिएको स्रोत बताउँछ ।
छलफलमा प्रहरी अधिकारीहरुले कर्तव्यपालनका सिलसिलामा प्रहरी अधिकारीहरुमाथि भएको आक्रमण र लुटपाटलाई कारबाहीको दायरामा ल्याउन नसक्दा प्रहरीको मनोबल खस्किएको बताएका थिए । आगामी दिनमा हुने प्रदर्शनमा प्रहरीले कसरी सुरक्षा दिने, कसरी काम गर्ने भन्ने अन्यौल संगठनमा परेको छ, त्यसैले शान्ति सुरक्षा कायम गर्न प्रहरीको मनोबल खस्किन नदिउँ भन्ने प्रहरी अधिकारीहरुको भनाइ थियो ।
भ्रष्टचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको मुख्य माग राखेर जेनजी युवाहरुले गत भदौ २३ र २४ गते काठमाडौंमा गरेको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा आगजनी हुनुका साथै हतियार पनि लुटिएको थियो । गृह मन्त्रालयका स्रोतका अनुसार करिब १२ सय हतियार फेला परेका छैनन् ।
भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको मुख्य माग राखेर जेनजी युवाहरुले गत भदौ २३ र २४ गते काठमाडौंमा गरेको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा आगजनी हुनुका साथै हतियार पनि लुटिएको थियो ।
प्रहरीका अनुसार जेनजी युवा आन्दोलनको क्रममा एक हजार एक सय हतियार लुटपाट तथा आगजनी भएका थिए । तीमध्ये नेपाली सेनाको सहयोगमा तीन सय हतियारमात्र फिर्ता भएका छन् । अरु हतियारको अवस्था अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।