
काठमाडौं, असोज २२ । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।



एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’
आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रुप पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढेको उनले बताएका छन् ।

उनले अगाडि लेखेका छन,“यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौँ ।”
शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।