रूसको अग्रगमन, युक्रेनको आणविक केन्द्रमाथि ड्रोन हमला प्रयास



काठमाडौं , असोज  २२ । रूसले सोमबार युक्रेनविरुद्धका सबै मोर्चामा सैन्य अग्रगमन गरेको दाबी गरेको छ, जबकि युक्रेनले रूसको नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्ने प्रयास गरेको बताइएको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार डोनेट्स्क र जापोरिजिया क्षेत्रमा एउटा–एउटा बस्तीमाथि नियन्त्रण कायम गरिएको छ ।



साथै, रूसी सेनाले युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकूहरू रहेका अस्थायी बेस, इन्धन भण्डार, ऊर्जा तथा यातायात संरचनामाथि १४८ स्थानमा आक्रमण गरेको छ । त्यस क्रममा ४१६ फिक्स्ड–विङ ड्रोनहरू पनि खसालिएको बताइएको छ ।

रूसी सर्वोच्च सेनापति भ्यालेरी गेरेसिमोभले मंगलबार बताएअनुसार, “रूसी सेना सबै दिशामा अगाडि बढिरहेको छ, जबकि युक्रेनी सेना अग्रपंक्तिमा स्थिति स्थिर पार्ने र रूसी आक्रमण ढिलो पार्ने प्रयासमा छ ।”

यसैबीच, रूसी अधिकारीहरूले नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा सोमबार राति युक्रेनी लडाकू ड्रोनले आक्रमण गर्ने प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक नष्ट गरिएको जनाएका छन् ।

रूसी राज्य आणविक ऊर्जा कम्पनी रोजएनर्गोएटोमका अनुसार उक्त ड्रोन प्लान्ट नजिकै रहेको भोरोनिझ क्षेत्रमा रहेको युनिट–६ को कूलिङ टावरमा ठोक्किएर विस्फोट भएको थियो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संरचनागत क्षति वा मानवीय हताहत भएको छैन । प्लान्टका सबै सुरक्षा प्रणालीहरू सामान्य अवस्थामा छन् र विकिरण स्तर पनि सामान्य छ ।”

उता, युक्रेनी सेनाको जनरल स्टाफका अनुसार सोमबार मात्र १९३ पटकको भीषण भिडन्त भएको थियो । युक्रेनी सेनाले विभिन्न दिशाबाट आएका रूसी आक्रमणहरू परास्त गरेको र कुप्यांस्का, टोरेत्स्क र नोभोपालिभ्का दिशामा प्रत्याक्रमण सञ्चालन गरेको जनाएको छ ।

युक्रेनी सेनाले रूसी सेना, तिनका हतियार, सैन्य उपकरण, ड्रोन नियन्त्रण केन्द्र र कमाण्ड पोस्टमाथि प्रहार गरी ३३८ वटा रूसी सामरिक ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको